लागू औषध सेवनकर्ता खोजी तथा सुधार महा अभियान २०८३ अन्तर्गत नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीहरूलाई सचेतनामूलक प्रशिक्षण दिइएको छ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत श्रीपुरस्थित नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालयमा मंगलबार आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई लागू औषध तथा मदिरा सेवनका असरबारे जानकारी गराइएको हो।
कार्यक्रम सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर–११ का अध्यक्ष राम सरार्फको अध्यक्षतामा सम्पन्न भएको थियो। वडा प्रहरी कार्यालय श्रीपुरका सहायक प्रहरी निरीक्षक रुपेश प्रसाद कुशवाहाले लागू औषध तथा मदिरा सेवनले व्यक्ति, परिवार र समाजमा गम्भीर असर पार्ने बताउँदै समयमै सचेत हुन विद्यार्थीहरूलाई आग्रह गरे।
उनले विशेषगरी युवापुस्तामा जाँड, रक्सी, चुरोट तथा लागू औषध सेवनको बढ्दो प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै यसबाट मानसिक सन्तुलन गुम्ने, आर्थिक क्षति हुने र अन्ततः जीवन नै जोखिममा पर्ने बताए।
कार्यक्रममा सहभागी वक्ताहरूले लागू औषध सेवनले घर–परिवारमा तनाव, सामाजिक समस्या र दीर्घकालीन असर निम्त्याउने भएकाले यसबाट टाढा रहनुपर्नेमा जोड दिएका थिए।
सो अवसरमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर–११ का वरिष्ठ उपाध्यक्ष जयलाल शाह, सचिव दिलीप प्रधान, सहायक प्रिन्सिपल, सामुदायिक प्रहरी सेवा केन्द्रका इन्चार्ज विश्वेश्वर प्रसाद शाह, प्रहरी जवान धनमाया दाहाल, सदस्यहरू विपिन उपाध्याय, मधु सिंह, सहायक प्रहरी हवल्दार सुरेन्द्र यादव तथा कक्षा १० का विद्यार्थी र शिक्षक–शिक्षिकाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको समापनमा अध्यक्ष राम सरार्फले विद्यार्थीहरूलाई लागू औषधबाट टाढा रहन र आफ्नो भविष्य सुरक्षित बनाउन आग्रह गरे।
कार्यक्रमको सहजीकरण सदस्य तथा पत्रकार जगत राईले गरेका थिए।