वीरगञ्ज । “सीप सिकौँ, रोजगार बनाऔँ” भन्ने मूल नारासहित सञ्चालन गरिएको दुई महिने सिलाइकटाइ तालिम सम्पन्न भएको छ । नारी शिल्प कला केन्द्र वीरगञ्ज–११ को आयोजना तथा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ को आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिम एक समारोहबीच सम्पन्न गरिएको हो ।
नारी शिल्प कला केन्द्रकी अध्यक्ष सीता ढकालको सभापतित्व तथा वडा नम्बर ११ का वडा अध्यक्ष अजय चौरसियाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तालिममा सहभागी ३५ जना महिलालाई प्रमाणपत्र वितरण गरिएको थियो ।
प्रमाणपत्र वितरण गर्दै वडा अध्यक्ष चौरसियाले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा पनि महिलाहरूलाई दक्ष र आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम सञ्चालन गरिने बताउनुभयो ।
“तालिम लिएर मात्र हुँदैन, त्यसलाई व्यवहारमा लागू गर्दै आफू दक्ष बन्नुका साथै अरूलाई पनि सिकाउन आवश्यक छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा वडा सचिव उमेश शर्माले महिलाहरूका लागि छुट्याइएको बजेटको सदुपयोग गर्दै आत्मनिर्भर बन्न आग्रह गर्नुभयो ।
त्यसैगरी नारी शिल्प कला केन्द्रकी कोषाध्यक्ष कलावती देवीले महिलाहरूको सशक्तीकरण, सीप विकास तथा आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले यस्ता तालिम सञ्चालन गरिएको बताउनुभयो ।
तालिम अवधिभर पार्वती ठकुरीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा वडा सदस्यहरू मुस्तकिम हवारी, सलमा खातुन, गौतमी देवी, जगन महत्तो तथा केन्द्रका सदस्यहरू सविता देवी, सरस्वती हजारा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य पार्वती ठकुरीले राख्नुभएको थियो भने सञ्चालन पत्रकार जगत राईले गर्नुभएको थियो ।