वीरगञ्ज महानगरपालिका–२४ ज्योतिनगरस्थित लिटिल एन्जल बोर्डिङ स्कुल मा विद्यार्थीहरूले पहिलोपटक डिजिटल इलेक्ट्रोनिक प्रणालीमार्फत मतदान गरेका छन्। विद्यालयमा कक्षा १ देखि १० सम्मका करिब ३ सय विद्यार्थीहरूले मोबाइलमार्फत आफूले रोजेका उम्मेदवारलाई भोट दिएका हुन्।
विद्यालयका निर्वाचन अधिकृत एवं प्रिन्सिपल सन्नी पाख्रिङ का अनुसार नेपालमै सम्भवतस् पहिलोपटक विद्यालय स्तरमा डिजिटल इलेक्ट्रोनिक मोबाइल प्रणालीमार्फत निर्वाचन गरिएको हो। विद्यार्थीहरूले हेड गर्ल, हेड ब्वाय, हाउस क्याप्टेन तथा खेलकुद संयोजक पदका उम्मेदवारलाई डिजिटल माध्यमबाट मतदान गरेका थिए।
प्रिन्सिपल पाख्रिङले आधुनिक प्रविधिको प्रयोगमार्फत विद्यार्थीहरूलाई लोकतान्त्रिक अभ्याससँगै प्रविधिको ज्ञान दिने उद्देश्यले यस्तो प्रणाली अपनाइएको बताए। उनका अनुसार यसले भविष्यमा विद्यार्थीहरूलाई प्रविधिमैत्री सोच विकास गर्न मद्दत पुग्नेछ।
निर्वाचनमा प्रतिस्पर्धा गरी निर्वाचित हुने हाउस क्याप्टेन, हेड गर्ल तथा हेड ब्वायहरूको शपथ ग्रहण कार्यक्रमसमेत आयोजना गरिने विद्यालयले जनाएको छ।
विद्यालयकी सञ्चालिका मिरा राई ले डिजिटल मतदान प्रणालीबाट कुनै पनि मत खेर नजाने र मतको सही सदुपयोग हुने भएकाले यो प्रभावकारी र पारदर्शी रहेको बताइन्।
उनले विद्यार्थीहरूले शान्तिपूर्ण रूपमा लामबद्ध भएर मतदान गरेको जानकारी दिँदै भविष्यमा अन्य विद्यालयहरूले पनि यस्ता प्रविधिमैत्री अभ्यास अपनाउनुपर्ने धारणा व्यक्त गरिन्।
मतदान कार्यक्रममा सहायक निर्वाचन अधिकृत तीर्थनारायण यादव, आर्यन वर्णवाल लगायतको उपस्थिति रहेको थियो