वीरगञ्ज, जेठ ३० । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र अन्तर्राष्ट्रिय संस्थाको वार्षिक छाता उद्देश्य–२०८३ अन्तर्गत “आध्यात्मिक जागरणद्वारा विश्व नव निर्माण” विषयक विशेष आध्यात्मिक सम्मेलन तथा क्षेत्रीय शुभारम्भ समारोह शनिबार वीरगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र छप्कैयाकी क्षेत्रीय सञ्चालिका रविना दिदीको सभापतित्व तथा वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
समारोहमा बोल्दै उपमेयर आलमले आध्यात्मिक चेतना, नैतिक मूल्य तथा सामाजिक सद्भाव प्रवर्द्धनमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमहरूले शान्तिपूर्ण, सकारात्मक र सभ्य समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै महानगरपालिकाले सामाजिक तथा आध्यात्मिक गतिविधिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। आध्यात्मिक ज्ञानले समाजमा शान्ति, सद्भाव र नैतिकता कायम राख्न सहयोग पुग्ने भएकाले यस्ता अभियानलाई देशव्यापी रूपमा विस्तार गर्न आवश्यक रहेको उहाँको भनाइ थियो।
कार्यक्रमको शुभारम्भ स्वागत गीत तथा दीप प्रज्वलनबाट गरिएको थियो। सम्मेलनमा आध्यात्मिक चेतना, नैतिक मूल्य, मानवीय सेवा, विश्व शान्ति, सकारात्मक जीवनशैली तथा सामाजिक रूपान्तरणमा आध्यात्मिकताको भूमिकाका विषयमा विशेष प्रवचन प्रस्तुत गरिएको थियो।
कार्यक्रमका मुख्य आकर्षणमा स्वागत नृत्य तथा सांस्कृतिक प्रस्तुति, आध्यात्मिक जागरणसम्बन्धी विशेष प्रवचन, राजयोग ध्यानको महत्व, वर्तमान विश्व परिस्थिति र शान्तिको आवश्यकता तथा मानव जीवनमा नैतिक मूल्यहरूको संरक्षणसम्बन्धी विचार आदानप्रदान रहेका थिए।
वक्ताहरूले आध्यात्मिक चेतनाले व्यक्ति, परिवार, समाज र राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने धारणा राख्दै बढ्दो तनाव, असहिष्णुता तथा नैतिक विचलन अन्त्यका लागि आध्यात्मिक शिक्षाको आवश्यकता औँल्याएका थिए। कार्यक्रममा राजयोग ध्यान, सकारात्मक सोच, आत्मिक शान्ति तथा जीवन व्यवस्थापनसम्बन्धी उपयोगी जानकारीसमेत प्रदान गरिएको थियो।
सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति सदस्य केसी लामिछाने, वीरगञ्ज उद्योग वाणिज्य संघका हरि गौतम, नेपाल बार एसोसिएसनका अध्यक्ष रामनारायण कुर्मी, पूर्व संविधानसभा सदस्य जयप्रकाश यादव, छोटेलाल भाइ, बेनी मधु मिना दिदीलगायत विभिन्न क्षेत्रका बुद्धिजीवी, समाजसेवी, शिक्षक, विद्यार्थी तथा सर्वसाधारण नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण गोमा दिदीले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन गोवर्धन भाइले गर्नुभएको थियो। कार्यक्रममा बालबालिकाहरूले आकर्षक सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए।