वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–३ स्थित जानकी इङ्लिस बोर्डिङ स्कुलमा विद्यार्थी नेतृत्व विकास गर्ने उद्देश्यले हेड गर्ल, हेड ब्वाय तथा हाउस क्याप्टेन चयनका लागि मतदान सम्पन्न गरिएको छ।
विद्यालयका प्रिन्सिपल सुनिता यादवका अनुसार विद्यार्थीहरूले आफ्ना कक्षागत तथा विद्यालयस्तरीय नेतृत्व चयनका लागि आफूले रोजेका उम्मेदवारलाई मतदान गरेका हुन्। विद्यालय तहदेखि नै लोकतान्त्रिक अभ्यास र निर्वाचन प्रक्रियाबारे जानकारी दिन यस्ता कार्यक्रम आवश्यक रहेको उनले बताइन्।
उनका अनुसार आजका विद्यार्थीहरू भविष्यमा विभिन्न क्षेत्र र तहमा नेतृत्वदायी भूमिकामा पुग्ने भएकाले निर्वाचन प्रणाली, नेतृत्व चयन र जिम्मेवारीबोधबारे प्रारम्भिक ज्ञान दिन विद्यालयले यस्तो अभ्यास गर्दै आएको छ। निर्वाचनबाट चुनिएका हेड गर्ल, हेड ब्वाय तथा हाउस क्याप्टेनहरूले विद्यालयको अनुशासन कायम राख्न तथा सहपाठीहरूलाई आवश्यक जानकारी प्रवाह गर्न भूमिका निर्वाह गर्नेछन्।
विद्यालयका डाइरेक्टर वीरेन्द्र यादवले विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध तथा अनुशासनको भावना विकास गराउने उद्देश्यले मतदानमार्फत नेतृत्व चयन गरिएको बताए। “विद्यार्थीहरूले निष्पक्ष ढंगले आफ्ना प्रतिनिधि आफैं छनोट गर्ने अवसर पाएका छन्। यसले उनीहरूलाई लोकतान्त्रिक अभ्यासको अनुभव दिलाउनुका साथै भविष्यका नेतृत्वका लागि तयार बनाउँछ,” उनले भने।
डाइरेक्टर यादवका अनुसार नेतृत्व पदका लागि करिब ३५ जना विद्यार्थीले उम्मेदवारी दिएका थिए। ठूलो संख्यामा विद्यार्थीहरू निर्वाचनमा प्रतिस्पर्धा गर्न आउनु नेतृत्व क्षमता प्रदर्शन गर्ने सकारात्मक संकेत भएको उनको भनाइ छ।
“विद्यार्थीहरूले कसलाई बढी रुचाउँछन् र को सक्षम नेतृत्वका रूपमा स्थापित हुन्छ भन्ने कुरा मत परिणामपछि मात्र स्पष्ट हुनेछ,” उनले भने, “तर यति धेरै विद्यार्थीले उम्मेदवारी दिनु नै उनीहरूमा नेतृत्व गर्ने आत्मविश्वास र क्षमता विकास भइरहेको संकेत हो।”
विद्यालयले यस्ता गतिविधिमार्फत विद्यार्थीहरूलाई लोकतान्त्रिक मूल्य, नेतृत्व विकास तथा जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ।