वीरगञ्ज– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजनामा 'नेपाल वन उपयोग, व्यवस्थापन अधिकार तथा प्राकृतिक स्रोत सुशासनमा आदिवासी पत्रकारहरूको क्षमता अभिवृद्धि' विषयक दुई दिने प्रदेशस्तरीय कार्यशाला शुक्रबारदेखि सिमरास्थित क्लासिक होटलमा सुरु भएको छ।
असार १३ र १४ गतेसम्म सञ्चालन हुने कार्यशालाको उद्देश्य वन उपयोग, व्यवस्थापन अधिकार, प्राकृतिक स्रोत संरक्षण तथा सुशासनका विषयमा आदिवासी पत्रकारहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।
कार्यशालामा मधेश प्रदेशका विभिन्न जिल्लाबाट सहभागी भएका आदिवासी पत्रकारहरूलाई वन व्यवस्थापन, प्राकृतिक स्रोतमा समुदायको अधिकार, वातावरण संरक्षण, सुशासन तथा यी विषयलाई सञ्चार माध्यममार्फत प्रभावकारी रूपमा उठान गर्ने विषयमा प्रशिक्षण प्रदान गरिनेछ। साथै सहभागीहरूबीच अनुभव आदानप्रदान तथा समसामयिक विषयमा अन्तरक्रियासमेत गरिने कार्यक्रम रहेको छ।
कार्यक्रममा डीजीएम नेपाल (DGM), क्लाइमेट इन्भेष्टमेन्ट फन्ड(CIF), विश्व बैंक (THE WORLD BANK) तथा वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रको सहयोग रहेको आयोजकले जनाएको छ।
आयोजकका अनुसार यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमले आदिवासी पत्रकारहरूलाई वन, प्राकृतिक स्रोत व्यवस्थापन तथा सुशासनका विषयमा तथ्यमा आधारित, उत्तरदायी र प्रभावकारी पत्रकारिता गर्न थप सक्षम बनाउने अपेक्षा गरिएको छ।