वीरगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) महानगर अध्यक्ष तथा माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल राहुल श्रीवास्तवले शिक्षामन्त्री सस्मित पोख्रेललाई एकपटक वीरगञ्ज आएर शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष छलफल गर्न आग्रह गरेका छन्।
श्रीवास्तवले आफ्नो सामाजिक सञ्जालमार्फत वर्तमान शिक्षा नीति, विशेषगरी निजी विद्यालयमा लागू गरिएको ३ प्रतिशत समता शुल्क (कर) सम्बन्धी विषयमा असन्तुष्टि व्यक्त गर्दै शिक्षामन्त्रीलाई शिक्षा क्षेत्रको वास्तविक अवस्था बुझ्न वीरगञ्ज आउन अनुरोध गरेका हुन्। उनले शिक्षा नीति निर्माण गर्दा शिक्षासँग प्रत्यक्ष सम्बन्धित संस्थाहरू, प्याप्सन, एन–प्याप्सन, हिसान तथा अन्य सरोकारवालासँग आवश्यक परामर्श गरेर मात्र निर्णय लिनुपर्ने धारणा सार्वजनिक गरेका छन्।
उनको भनाइमा निजी विद्यालयमा केवल सम्पन्न परिवारका बालबालिका मात्र अध्ययन गर्दैनन्। आर्थिक रूपमा कमजोर अभिभावकले पनि ठूलो त्याग गरेर आफ्ना छोराछोरीलाई निजी विद्यालयमा अध्ययन गराइरहेका छन्। यस्तो अवस्थामा करको भार थपिँदा अभिभावक र विद्यालयबीच अनावश्यक दूरी तथा विवाद सिर्जना हुने जोखिम रहेको उनले उल्लेख गरेका छन्।
यस विषयमा एक अभिभावकले पनि श्रीवास्तवले उठाएको आवाज समग्र अभिभावकहरूको भावना प्रतिबिम्बित गर्ने प्रयास भएको प्रतिक्रिया दिएका छन्। उनका अनुसार शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा करको भार थप्नुको सट्टा विपन्न, अपाङ्ग तथा पछाडि परेका समुदायलाई थप सहुलियत दिने नीति आवश्यक छ।
सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत कर लागू गर्ने निर्णयपछि चौतर्फी आलोचना भएको थियो। त्यसपछि सरकारले हालका लागि उक्त कर लागू नगर्ने निर्णय सार्वजनिक गरेको थियो। त्यस निर्णयप्रति श्रीवास्तवले सामाजिक सञ्जालमार्फत सरकारलाई धन्यवाद दिँदै आगामी दिनमा शिक्षा सम्बन्धी नीति तथा ऐन निर्माण गर्दा पर्याप्त अध्ययन, छलफल र सरोकारवालासँगको परामर्शलाई प्राथमिकता दिन आग्रह गरेका छन्।
उनले सरकारलाई अभिभावक र विद्यालय सञ्चालकबीच दूरी बढाउने खालका निर्णय नगर्न तथा शिक्षा क्षेत्रका समस्या समाधानका लागि प्रत्यक्ष संवादको वातावरण बनाउन समेत अपिल गरेका छन्।