वीरगञ्ज– सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, श्रीपुर–११ का पदाधिकारी तथा सदस्यहरूको विशेष बैठक अध्यक्ष राम सरार्फको निवासमा सम्पन्न भएको छ। बैठकले आगामी १६ गते ठोरीमा वनभोज कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।
वनभोजकै अवसरमा संस्थाको औपचारिक बैठकसमेत बस्ने र संस्थाको आगामी कार्ययोजना तथा विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गर्ने तयारी गरिएको अध्यक्ष राम सरार्फले जानकारी दिए।
अध्यक्ष सरार्फका अनुसार संस्थालाई थप सक्रिय र चलायमान बनाउँदै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइनेछ। साथै, नेपाल प्रहरीसँग सहकार्य गरी समुदाय तथा विद्यालयहरूमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लगायतका प्रस्तावहरू पनि सोही बैठकबाट पारित गर्ने योजना रहेको उनले बताए।
बैठकमा उपाध्यक्ष रेखा घिमिरे, वरिष्ठ सल्लाहकार डा. पुरुषोत्तम दुबे, सदस्यहरू निर्मल ताम्राकार, मनीष सिंह, राजेश कुमार सिंह, विष्णु बसौला, विपिन उपाध्याय, रोशनी लुंगेली, गीता चौहान, अनु बर्णवाल, प्रहरी सहायक हवलदार विश्वेश्वर प्रसाद साह लगायतको उपस्थिति रहेको थियो।
सदस्य जगत राईका अनुसार वनभोज कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहनेछ। उक्त कार्यक्रममार्फत संस्थाको भावी रणनीति तय गर्दै समुदायसँगको सहकार्यलाई अझ सुदृढ बनाउने लक्ष्य लिइएको छ।