वीरगञ्ज, २९ साउन । सामाजिक संस्था जिल्ला समन्वय समिति पर्सा र एनसीई नेपालको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा शुक्रबार वीरगञ्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ‘भिन्न परिवेश, साझा आकांक्षा’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा युवाहरू कुलतमा फस्ने क्रम बढिरहेकाले समयमै पहिचान गरी सही मार्गमा ल्याउनुपर्नेमा वक्ताहरूले जोड दिएका छन्।
सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इमब्राहिम देवानको अध्यक्षता तथा एनसीई नेपालका केन्द्रीय उपाध्यक्ष रामप्रवेश साहको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै एनसीई नेपालका केन्द्रीय उपाध्यक्ष साहले युवालाई सही दिशामा परिचालन गर्न सरकारी तथा गैरसरकारी संघसंस्था एकजुट भएर लाग्नुपर्ने बताए। युवाहरू कुलतमा फसिरहेको चर्चा भइरहेकाले चियापसल, चोक तथा चौराहाजस्ता स्थानमा पुगेर उनीहरूको पहिचान गर्दै सही मार्गनिर्देशन दिनुपर्ने उनको भनाइ थियो।
नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति ब्रिजकिशोर पटेलले पछिल्लो समय धेरै युवा कुलतमा फसेर मुद्दा–मामिला खेप्नुपर्ने अवस्था आएको बताए। साथीभाइको संगतका कारण लागूऔषध सेवन, ओसारपसार तथा चोरीजस्ता आपराधिक गतिविधिमा युवाको संलग्नता देखिन थालेकाले समस्या गम्भीर बन्नुअघि नै समाधानका लागि पहल गर्नुपर्ने उनले बताए।
सामाजिक संस्था जिल्ला समन्वय समितिका स्वयंसेवक दुलारचन्द साहले कुलतमा फसेका युवालाई सम्झाइबुझाई गलत बाटोबाट सही बाटोमा ल्याउन युवाहरू नै सक्रिय हुनुपर्ने बताए। बेरोजगारीका कारण पनि केही युवा कुलततर्फ आकर्षित भएको हुन सक्ने भन्दै सरकारले बेरोजगार युवाको सीप र क्षमतालाई समयमै उपयोग गरी रोजगारीको अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ थियो।
उनले रोजगारीको अवसर सिर्जना गर्न सके युवालाई लागूऔषधको कुलतबाट जोगाउनुका साथै वैदेशिक रोजगारीका लागि हुने बाध्यकारी पलायनसमेत केही हदसम्म रोक्न सकिने बताए।
दिव्य विकास स्रोत केन्द्रका प्रबन्ध निर्देशक रामकान्त पटेलले कुलतमा फसेका युवालाई सही दिशामा ल्याउन सामाजिक संस्थाहरूले निरन्तर काम गरिरहेको बताए। सामाजिक संस्थामार्फत युवालाई विभिन्न अवसर र रोजगारीसँग जोड्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले सरकारले समेत यस्ता कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए।
जय नारायण चौधरीले युवालाई रोजगारीसँग जोड्न सके लागूऔषध तथा अन्य कुलतबाट टाढा राख्न सकिने बताए। युवाको सीप, क्षमता र अध्ययनको विषयअनुसार रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा उनले जोड दिए।
उनका अनुसार रोजगारीको अभावका कारण नेपाली युवाले आफ्नो श्रमशक्ति विदेशमा खर्च गर्नुपर्ने बाध्यता कायमै छ। दैनिक ठूलो संख्यामा युवा वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्न स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उनले बताए।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै सामाजिक संस्था जिल्ला समन्वय समितिका उपाध्यक्ष सन्देश चौहानले युवाहरू सहरमा मात्र नभई विभिन्न गाउँपालिकामा समेत कुलतमा फसिरहेको बताए। स्थानीय तहले यस्ता युवाको पहिचान गरी उचित व्यवस्थापन गर्न नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे।
कुलतमा फसेका युवालाई समयमै पहिचान गरी सीप विकास तथा रोजगारीतर्फ अग्रसर गराउन सके उनीहरूलाई समाज र राष्ट्र निर्माणमा योगदान पुर्याउने जनशक्तिका रूपमा विकास गर्न सकिने चौहानले बताए।
कार्यक्रमको सहजीकरण ललन पटेलले गरेका थिए।