वीरगञ्ज । थारु समुदायका विद्यार्थीलाई शिक्षाको अवसर प्रदान गर्दै उनीहरूको शैक्षिक, सामाजिक तथा सांस्कृतिक विकासमा योगदान पुर्याउने उद्देश्यले स्थापना गरिएको आदर्श थारु छात्रावासले आफ्नो स्थापनाको लामो इतिहास बोकेको छ।
विसं २००९ सालमा वीरगञ्ज महानगरपालिका–५ बिर्तास्थित कुमारटोलमा स्थापना भएको छात्रावासले आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका थारु समुदायका विद्यार्थीलाई शहरमा बसेर उच्च शिक्षा हासिल गर्न सहज वातावरण प्रदान गर्दै आएको छ।
रौतहटका केवल चौधरी संस्थापक अध्यक्ष भएर सुरु गरेको छात्रावासका लागि हितबहादुर चौधरी, छविलाल चौधरीलगायतले जग्गा उपलब्ध गराएका थिए। छात्रावासका लागि करिब ७ कठ्ठा १७ धुर जग्गा उपलब्ध गराइएको बताइएको छ। संस्थापक तथा अग्रजहरूमा अमरबहादुर फौजदार, रामप्रसाद राय थारु, शीतलबहादुर चौधरी तथा सञ्चालक सचिव चिरञ्जीवी चौधरीलगायतको योगदान रहेको वर्तमान अध्यक्ष शेखर चौधरीले बताए।
ग्रामीण तथा दुर्गम क्षेत्रबाट उच्च शिक्षा हासिल गर्न वीरगञ्ज आउने आर्थिक रूपमा कमजोर थारु समुदायका विद्यार्थीलाई आवासको समस्या नहोस् भन्ने उद्देश्यले छात्रावास स्थापना गरिएको अध्यक्ष चौधरीको भनाइ छ। स्थापना भएदेखि नै विभिन्न जिल्लाबाट अध्ययनका लागि आएका विद्यार्थीले छात्रावासमा बसेर आफ्नो अध्ययनलाई निरन्तरता दिने अवसर पाउँदै आएका छन्।
छात्रावासले आवासको सुविधा मात्र नभई विद्यार्थीमा अनुशासन, सामाजिक व्यवहार, नेतृत्व क्षमता, सांस्कृतिक पहिचान र सामूहिक भावनाको विकासमा समेत योगदान पुर्याउँदै आएको अध्यक्ष चौधरीले बताए।
उनका अनुसार आदर्श थारु छात्रावास थारु समुदायको भाषा, संस्कृति, परम्परा र पहिचान संरक्षण गर्ने महत्वपूर्ण थलोका रूपमा समेत स्थापित हुँदै गएको छ। विभिन्न चाडपर्व, सांस्कृतिक कार्यक्रम तथा सामाजिक गतिविधिमा विद्यार्थीको सहभागिताले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्न सहयोग पुगेको छ।
छात्रावासमा बसेर शिक्षा हासिल गरेका विद्यार्थीमध्ये धेरैजना विभिन्न क्षेत्रमा स्थापित भइसकेका छन्। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल तथा मन्त्री शंकर चौधरीले समेत यही छात्रावासमा बसेर आफ्नो शैक्षिक यात्रा अघि बढाएको अध्यक्ष चौधरीले बताए।
‘छात्रावास केवल बस्ने ठाउँ होइन, विद्यार्थीको भविष्य निर्माण गर्ने आधार हो,’ अध्यक्ष चौधरीले भने, ‘यहाँबाट शिक्षा हासिल गरेका विद्यार्थी विभिन्न क्षेत्रमा स्थापित भएर समुदायको सामाजिक तथा आर्थिक विकासमा योगदान दिइरहेका छन्।’
समयअनुसार छात्रावासको भौतिक पूर्वाधार विकासलाई समेत प्राथमिकता दिइएको उनले बताए। आफ्नो कार्यकालमा नयाँ भवन निर्माणको काम अघि बढिरहेको भन्दै उनले आगामी दिनमा छात्रावासको शैक्षिक वातावरण र व्यवस्थापनमा थप सुधार हुने अपेक्षा व्यक्त गरे।
विद्यार्थीको बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै पुस्तकालय, अध्ययन कक्ष, खानेपानी, स्वास्थ्य सेवा तथा अन्य आधारभूत सुविधा थप विकास गर्नुपर्ने आवश्यकता रहेको अध्यक्ष चौधरीले बताए। छात्रावासको संरक्षण र विकासका लागि पूर्वविद्यार्थी, स्थानीय समुदाय, सरकारी निकाय तथा विभिन्न संघ–संस्थाको सहकार्य आवश्यक रहेको उनले बताए।
‘सबै सरोकारवालाले हातेमालो गरेर अघि बढे छात्रावासलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ,’ उनले भने।
आदर्श थारु छात्रावासको स्थापनादेखि हालसम्म विभिन्न व्यक्तिले नेतृत्व गरेका छन्। विसं २०१४ देखि २०१८ सम्म ब्रह्मनारायण फौजदार, २०१८ देखि २०१९ सम्म मुक्तिनारायण फौजदारी, २०१९ देखि २०३९ सम्म भागवत चौधरी, २०४० देखि २०४८ सम्म गिर्धारी चौधरी, २०४९ देखि २०५१ सम्म लक्ष्मण चौधरी र २०५२ देखि २०६५ सम्म रामदेव महतोले अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।
त्यसैगरी विसं २०६५ देखि २०७२ सम्म सुवंश चौधरी, २०७२ देखि २०७६ सम्म रामकृष्ण चौधरी र २०७६ देखि हालसम्म शेखर चौधरी अध्यक्षका रूपमा कार्यरत छन्।
अध्यक्ष चौधरी सामाजिक क्षेत्रसँगै शिक्षा तथा कृषि क्षेत्रमा समेत सक्रिय रहँदै आएको बताउँछन्। उनका अनुसार छात्रावासले आगामी दिनमा पनि थारु समुदायका विद्यार्थीलाई गुणस्तरीय शिक्षा हासिल गर्न सहयोग पुर्याउँदै जानेछ।
थारु समुदायका विद्यार्थीका लागि शिक्षा, आश्रय र अवसरको केन्द्रका रूपमा विकास भएको आदर्श थारु छात्रावासको ऐतिहासिक योगदानलाई संस्थागत गर्दै भावी पुस्ताका लागि अझ प्रभावकारी शैक्षिक वातावरण निर्माण गर्नु आवश्यक रहेको अध्यक्ष चौधरीले बताए।