वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्र, पर्साको ४१ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ।
वार्षिक उत्सव कार्यक्रममा वीरगञ्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर विजय महतो, इन्जिनियर निर्मल फौजदार, इन्जिनियर पवन क्षेत्री, इन्जिनियर वीरेन्द्र चौधरी, सहायक इन्जिनियर रञ्जितकुमार श्रीवास्तव, लेखा प्रमुख शिवकुमार राई, प्रशासन प्रमुख सुमित्रा पौडेल, सहायक प्रशासन अधिकृत मुरारी उपाध्यायलगायत प्राधिकरणका कर्मचारी तथा पूर्वकर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले वीरगञ्ज तथा आसपासका क्षेत्रमा भरपर्दो, गुणस्तरीय र नियमित विद्युत् सेवा प्रवाहमा नेपाल विद्युत् प्राधिकरणले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे। विद्युत् सेवा विस्तारसँगै सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउन वितरण केन्द्रले आगामी दिनमा थप सक्रियताका साथ काम गर्नुपर्नेमा उनीहरूले जोड दिए।
कार्यक्रममा वीरगञ्ज वितरण केन्द्रको स्थापना, हालसम्मको सेवा प्रवाह, विद्युत् वितरण प्रणालीमा भएका सुधार तथा आगामी दिनमा गर्नुपर्ने कामका विषयमा समेत चर्चा गरिएको थियो। वक्ताहरूले विद्युत् चुहावट नियन्त्रण, नियमित विद्युत् आपूर्ति, प्राविधिक समस्या तत्काल समाधान तथा सेवाग्राहीका गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए।
वीरगञ्ज तथा आसपासका क्षेत्रमा बढ्दो जनसंख्या, औद्योगिक गतिविधि र विद्युत्को मागलाई ध्यानमा राख्दै वितरण प्रणालीलाई थप व्यवस्थित, आधुनिक र प्रभावकारी बनाउनुपर्नेमा समेत वक्ताहरूले जोड दिए।
त्यस्तै, विद्युत्को सुरक्षित प्रयोग, विद्युत् दुर्घटना न्यूनीकरण तथा सेवाग्राहीमा जनचेतना अभिवृद्धिका लागि सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो।
वार्षिक उत्सवका अवसरमा केन्द्रमा कार्यरत कर्मचारीहरूको योगदानको समेत प्रशंसा गरिएको थियो। लामो समयदेखि विद्युत् सेवा क्षेत्रमा कार्यरत कर्मचारीहरूले विभिन्न कठिन परिस्थितिका बाबजुद निरन्तर सेवा प्रवाह गर्दै आएको भन्दै उनीहरूको भूमिकालाई महत्वपूर्ण मानिएको कर्मचारी सन्तोषकुमार झाले जानकारी दिए।
कार्यक्रममा सहभागीहरूले वीरगञ्ज वितरण केन्द्रले विगतमा हासिल गरेका उपलब्धिको समीक्षा गर्दै आगामी दिनमा विद्युत् सेवा अझ भरपर्दो, सुरक्षित र सेवाग्राहीमैत्री बनाउन सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए।