वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२४, ज्योतिनगरस्थित लिटिल एन्जल्स स्कुलमा विद्यार्थीहरूको सिर्जनात्मक क्षमता, कलात्मक प्रतिभा तथा सांस्कृतिक सीप विकास गर्ने उद्देश्यले अन्तर–सदन मेहन्दी प्रतियोगिता सम्पन्न भएको छ।
विद्यालयको आयोजनामा भएको प्रतियोगितामा विभिन्न सदनका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। सहभागी विद्यार्थीहरूले निर्धारित समयभित्र हातमा आकर्षक तथा कलात्मक मेहन्दी डिजाइन तयार गरी आफ्नो सिर्जनशीलता प्रस्तुत गरेका थिए।
प्रतियोगितामा विद्यार्थीहरूले परम्परागत मेहन्दी कला तथा आधुनिक डिजाइनलाई समेत समेटेर विविध आकर्षक नमुना प्रस्तुत गरेका थिए। प्रतियोगिताले विद्यार्थीमा कलाप्रतिको रुचि बढाउनुका साथै सिर्जनात्मक सोच, आत्मविश्वास, अनुशासन र प्रतिस्पर्धात्मक भावनाको विकासमा सहयोग पुगेको विद्यालयले जनाएको छ।
विद्यालयका प्रिन्सिपल सन्डे पाख्रिङले यस्ता कलात्मक तथा अतिरिक्त क्रियाकलापले विद्यार्थीमा लुकेर रहेका प्रतिभा पहिचान गरी प्रस्फुटन गराउने अवसर प्रदान गर्ने बताए। अध्ययन–अध्यापनसँगै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यालयले विभिन्न सिर्जनात्मक तथा अतिरिक्त गतिविधिलाई प्राथमिकता दिँदै आएको उनको भनाइ थियो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई मूल्याङ्कनका आधारमा विजेता घोषणा गरी पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
मेहन्दी प्रतियोगिताले विद्यार्थीलाई आफ्नो कलात्मक प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै नेपाली कला, संस्कृति र परम्परासँग जोडिन समेत सहयोग पुगेको विद्यालयले जनाएको छ।