वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१५ स्थित नवदिप एकेडेमी बोर्डिङ स्कुलका विद्यार्थीलाई लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना जगाउने उद्देश्यले जनचेतनामूलक चलचित्र ‘सरी म’ प्रदर्शन गरिएको छ।
विद्यालयकी प्रिन्सिपल सुशीला शाहको नेतृत्वमा विद्यार्थीलाई चलचित्र अवलोकन गराइएको हो। कार्यक्रममा ‘लागूऔषध त्यागौँ, स्वास्थ्य र सुखी जीवन रोजौँ’ भन्ने मूल नारासहित चलचित्र प्रदर्शन गरिएको थियो।
विद्यार्थीलाई लागूऔषधबाट टाढा रहन तथा स्वस्थ, सुखी र अनुशासित जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले चलचित्र अवलोकन गराइएको प्रिन्सिपल शाहले बताइन्। उनका अनुसार युवाको पहिचान दुर्व्यसनमा नभई शिक्षा, सीप र संस्कारमा हुनुपर्छ भन्ने सन्देश चलचित्रले दिएको छ।
चलचित्र अवलोकनपछि विद्यार्थीले लागूऔषध दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा गम्भीर असर पार्ने भएकाले यसको नियन्त्रणका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखेका थिए। उनीहरूले लागूऔषधविरुद्ध सधैँ ‘होइन’ भन्ने प्रतिबद्धता व्यक्त गर्दै स्वस्थ जीवनशैली र सकारात्मक गतिविधिमा सहभागी हुनुपर्ने बताएका छन्।
सही निर्णयले भोलिको सुन्दर भविष्य निर्माण गर्न सकिने सन्देश चलचित्रबाट प्राप्त भएको विद्यार्थीहरूको भनाइ थियो।
प्रिन्सिपल शाहले लागूऔषध दुर्व्यसनविरुद्ध विद्यार्थीस्तरमै सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउँदै ‘सरी म’ चलचित्रले लागूऔषधविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन्