पर्सा । पर्साको पकाहमैपुर गाउँपालिकामा आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै युवा कृष्ण पटेलले गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।
स्थानीयस्तरमा सहयोगी तथा सक्रिय युवाका रूपमा परिचित पटेलले गाउँपालिकाको समग्र विकासलाई केन्द्रमा राखेर विभिन्न एजेन्डासहित निर्वाचनमा जाने तयारी गरेको बताएका छन्। उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीसँगै सहिद परिवार, महिला, युवा, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको हितलाई आफ्नो प्राथमिकतामा राख्ने बताएका छन्।
पटेलले गाउँपालिकामा विद्यमान समस्या पहिचान गरी स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै विकास निर्माणका कामलाई प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनका अनुसार स्वास्थ्य क्षेत्रको सुधार पहिलो प्राथमिकतामा रहनेछ। गाउँपालिकाका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, स्वास्थ्य संस्थाको सेवा विस्तार गर्ने तथा आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्थापनमा जोड दिइने उनले बताएका छन्।
त्यस्तै, शिक्षाको गुणस्तर सुधार गर्दै गाउँपालिकाभित्रका विद्यालयमा आवश्यक भौतिक पूर्वाधार, शैक्षिक सामग्री तथा गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्ने उनको योजना छ। आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन विशेष कार्यक्रम सञ्चालन गर्ने उनले बताएका छन्।
पकाहमैपुरको प्रमुख आर्थिक आधारका रूपमा रहेको कृषिको आधुनिकीकरण र व्यावसायीकरणलाई पनि पटेलले प्रमुख एजेन्डा बनाएका छन्। किसानलाई आधुनिक कृषि प्रविधि, सीप, उत्पादनमा आधारित सहयोग तथा बजारको पहुँच उपलब्ध गराउँदै कृषिलाई आयआर्जनको भरपर्दो माध्यम बनाउने उनको योजना छ।
युवालाई रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता कम गर्न सीप विकास, रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनमा जोड दिने पटेलले बताएका छन्। स्थानीय युवालाई व्यावसायिक तथा प्राविधिक तालिम उपलब्ध गराई स्वरोजगार र उद्यमतर्फ आकर्षित गर्ने तथा स्थानीय सम्भावनाका क्षेत्रमा लगानीको वातावरण बनाउने उनको प्रतिबद्धता छ।
यसैगरी, सहिद परिवारको सम्मान र रोजगारी, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको संरक्षण, महिला तथा युवाको सहभागिता बढाउने विषयलाई पनि आफ्नो प्राथमिकतामा राखेको पटेलले बताएका छन्। सहिद परिवारको योगदानको सम्मान गर्दै उनीहरूको आर्थिक तथा सामाजिक अवस्था सुधारका लागि स्थानीय तहबाट आवश्यक सहयोग र रोजगारीका अवसर सिर्जना गर्ने उनको योजना छ।
ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि सामाजिक सुरक्षा, आवश्यक सहयोग र सम्मानजनक जीवनयापन सुनिश्चित गर्न प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने उनले बताएका छन्।
पटेलले गाउँपालिकाका विकास योजना जनताको आवश्यकता र स्थानीय समस्याका आधारमा अघि बढाउने दाबी गरेका छन्। विकास निर्माणमा पारदर्शिता, जवाफदेहिता र जनसहभागितालाई प्राथमिकता दिँदै स्थानीय तहमा युवाको सक्रिय सहभागिता बढाउने उनको भनाइ छ।
आगामी स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका पटेलले आफ्ना एजेन्डा जनतामाझ लैजाने र गाउँपालिकाको समग्र विकासका लागि आफूलाई अवसर दिन मतदातासँग आग्रह गर्ने बताएका छन्।