वीरगञ्ज । श्रीकृष्ण जन्माष्टमीको अवसरमा वीरगञ्जस्थित रोयल किड्स मन्टेस्वरीमा विशेष कार्यक्रम आयोजना गरी पर्व मनाइएको छ।
जन्माष्टमीको अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरू राधा–कृष्णको आकर्षक भेषमा सजिएर कार्यक्रममा सहभागी भएका थिए। साना बालबालिका कृष्ण तथा राधाको पोसाकमा प्रस्तुत हुँदा कार्यक्रमस्थल रमाइलो र आकर्षक बनेको थियो।
विद्यालयकी प्रिन्सिपल रुचिका कुमारी श्रीवास्तवका अनुसार बालबालिकालाई श्रीकृष्ण जन्माष्टमीको धार्मिक तथा सांस्कृतिक महत्वबारे जानकारी गराउँदै उनीहरूको सिर्जनात्मकता, सांस्कृतिक ज्ञान र सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा विद्यार्थीहरूले राधा–कृष्णको भेषमा विभिन्न प्रस्तुति दिएका थिए। उनीहरूले श्रीकृष्णका बाललीला तथा धार्मिक–सांस्कृतिक पक्ष झल्काउने गतिविधिमा उत्साहपूर्वक सहभागिता जनाएका थिए।
कार्यक्रमका क्रममा विद्यालयका शिक्षक–शिक्षिकाले विद्यार्थीहरूलाई श्रीकृष्ण जन्माष्टमीको महत्व तथा भगवान् श्रीकृष्णका शिक्षाबारे जानकारी गराएका थिए। पर्वका माध्यमबाट बालबालिकामा नेपाली कला, संस्कृति, परम्परा तथा धार्मिक सहिष्णुताप्रति सकारात्मक भावना विकास हुने विश्वास विद्यालयले व्यक्त गरेको छ।
बालबालिकालाई मनोरञ्जनसँगै आफ्नो मौलिक संस्कृति र परम्परासँग परिचित गराउने उद्देश्यले विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको प्रिन्सिपल श्रीवास्तवले बताइन्।
कार्यक्रममा विद्यार्थी तथा शिक्षक–शिक्षिकाको उत्साहजनक सहभागिता रहेको थियो।