एउटा नयाँ अध्ययनका अनुसार अमेरिकामा विभिन्न प्रकारका क्यान्सरबाट हुने मृत्युमा पहिले थाहा भएभन्दा मदिराले ठूलो भूमिका खेलेको हुन सक्छ।
अध्ययनका प्रथम लेखक डा। चिन्मय जानीले भने, ‘समग्रमा क्यान्सरबाट हुने मृत्युदर घटेको सत्य भए तापनि, पछिल्लो ३३ वर्षमा २० वर्ष र सोभन्दा माथिका मानिसहरूमा मदिराका कारणले हुने क्यान्सर मृत्युको प्रतिशत ५८ प्रतिशतभन्दा बढीले बढेको हामीले पायौँ।’
अनुसन्धानले स्तन, प्रोस्टेट, कोलोन (ठुलो आन्द्रा) मलाशय, पेट, प्यान्क्रियाज र कलेजोका क्यान्सरका साथै टाउको र घाँटीको क्यान्सरमा पनि मृत्युको जोखिम बढेको देखाएको छ।
युनिभर्सिटी अफ मियामीको सिल्भेस्टर कम्प्रिहेन्सिभ क्यान्सर सेन्टरका हेमाटोलोजी र ओन्कोलोजीका प्रमुख क्लिनिकल फेलो जानीले भने, ‘समग्रमा, मदिरा कलेजोको क्यान्सरबाट हुने मृत्युसँग नजिकबाट जोडिएको हामीलाई थाहा छ।’
उनले भने, ‘विशेषगरी २० देखि ५४ वर्ष उमेर समूहका वयस्कहरूमा, मदिराजन्य क्यान्सरबाट हुने मृत्युको मुख्य कारण पुरुषहरूमा कोलोरेक्टल क्यान्सर र महिलाहरूमा दोस्रो मुख्य कारण रहेको थियो, जसले दुवै समूहमा कलेजोको क्यान्सरलाई उछिनेको छ। महिलाहरूमा, यसको मुख्य कारण मदिरासँग सम्बन्धित स्तन क्यान्सर थियो।’
जानीका अनुसार, जोखिम बढाउन धेरै मदिरा पिउनु पर्दैन – हरेक दिन लगभग एक ‘स्ट्यान्डर्ड ड्रिङ्क’ (निश्चित मात्रा) मात्र पिए पुग्छ। अमेरिकामा, १२ आउन्स साधारण बियर, ५ आउन्स वाइन वा १.५ आउन्स ८०-प्रुफ रक्सीलाई एक स्ट्यान्डर्ड ड्रिङ्क मानिन्छ।
दशकौँदेखि सङ्घीय निर्देशिकाहरूले अमेरिकीहरूलाई मदिरा सेवनको सीमा पुरुषका लागि दैनिक दुई स्ट्यान्डर्ड ड्रिङ्क र महिलाका लागि दैनिक एक ड्रिङ्क मात्र गर्न सिफारिस गर्दै आएका थिए। जनवरीमा ट्रम्प प्रशासनले ती सीमाहरू हटायो र त्यसको सट्टा मानिसहरूलाई ‘समग्र स्वास्थ्य सुधारका लागि कम मदिरा सेवन गर्नुपर्छ’ भनी सुझाव दियो।
हरेक साँझ एक ककटेल पिउनुलाई कुनै समय दैनिक जीवनको स्वीकार्य हिस्सा मानिने भए तापनि आजका अध्ययनहरूले यो पुरानो मान्यता भएको देखाएको डेनभरस्थित नेसनल जुइस हेल्थका कार्डियोभास्कुलर प्रिभेन्सन एन्ड वेलनेसका निर्देशक तथा कार्डियोलोजिस्ट डा. एन्ड्रयु फ्रिम्यानले बताए।
यस नयाँ अनुसन्धानमा संलग्न नरहेका फ्रिम्यानले भने, ‘मदिरा सेवनको कुनै सुरक्षित मात्रा हुँदैन भनेर आधुनिक विज्ञानले देखाएसँगै मदिराबारे हामीले पहिले सोच्ने गरेका कुराहरू गलत साबित हुँदै गइरहेका छन्।’ ‘यो अध्ययनले अन्य धेरै अध्ययनहरूसँग मिलेर मदिरा सेवनसँग जोडिएका जोखिमहरूलाई अझ व्यापक रूपमा बुझ्न आवश्यक रहेको सङ्केत गर्छ।’
यस उद्योगको प्रतिनिधित्व गर्ने डिस्टिल्ड स्पिरिट्स काउन्सिल अफ द युनाइटेड स्टेट्सले सीएनएनलाई इमेलमार्फत ‘मदिरा सेवनको कुनै सुरक्षित स्तर छैन’ भन्ने दाबीलाई यस अध्ययनले पुष्टि नगर्ने बताएको छ।
काउन्सिलकी विज्ञान तथा अनुसन्धानतर्फकी वरिष्ठ उपाध्यक्ष अमान्डा बर्जरले भनिन्, ‘यसले वैज्ञानिक प्रमाणको समग्रता र मदिरा तथा स्वास्थ्यबिचको जटिल सम्बन्धलाई गलत रूपमा प्रस्तुत गर्छ।’
मदिराले क्यान्सर कसरी बढाउँछ ?
नेसनल क्यान्सर इन्स्टिच्युट (एनसीआई) का अनुसार मदिराले विभिन्न तरिकाबाट क्यान्सरको वृद्धिमा योगदान पुर्याउँछ। मदिराले एस्ट्रोजेन लगायतका हार्मोनहरूको स्तर परिवर्तन गर्छ। यही कारण मदिरा सेवन र स्तन क्यान्सरबिच सम्बन्ध रहेको पाइन्छ।
मदिरा इथानोल वा इथाइल अल्कोहल हो, जसलाई कलेजोले टुक्र्याएर एसिटाल्डिहाइडमा परिणत गर्छ। एनसीआईले आफ्नो वेबसाइटमा यसलाई ‘मानिसमा क्यान्सर गराउन सक्ने सम्भावित तत्त्व ९कार्सिनोजेन०’ भनेर उल्लेख गरेको छ। कलेजोले एसिटाल्डिहाइडलाई थप टुक्र्याएर एसिटेट नामक हानिरहित अणुमा परिणत गर्ने भए तापनि यो प्रक्रिया पूर्ण रूपमा सुरक्षित हुँदैन। एसिटेटमा पूर्ण रूपमा परिणत हुनुअघि नै एसिटाल्डिहाइडले डीएनएलाई क्षति पुर्याउन र डीएनए मर्मत प्रक्रियामा अवरोध खडा गर्न सक्छ।
मदिराले अक्सिडेटिभ तनाव पनि बढाउँछ, जसले डीएनए, प्रोटिन र कोषिकाको कार्यमा क्षति पुर्याउनुका साथै इन्फ्लामेसनको समस्या निम्त्याउँछ। मदिरा सेवनले मुख र घाँटीका कोषिकाहरूलाई कमजोर बनाउँछ, जसले गर्दा तिनीहरू क्यान्सर गराउने तत्त्व ९कार्सिनोजेन० को उच्च जोखिममा पर्छन्। एसिटाल्डिहाइडको प्रमुख स्रोत मानिने चुरोट सेवन गर्दा यो सम्भावना अझ बढी हुन्छ।
यसका साथै, क्यान्सरको जोखिम कम गर्ने मानिएका प्रमुख पोषक तत्त्वहरू – भिटामिन ए, सी, डी, ई र भिटामिन बी कम्प्लेक्समा पाइने फोलेटलाई टुक्र्याउने र सोस्ने प्रक्रियामा मदिराले अवरोध पुर्याउने एनसीआईले जनाएको छ।
उमेर र लिङ्गअनुसार असर फरक पर्न सक्छ
सोमबार ‘द ल्यान्सेट रिजनल हेल्थ ( अमेरिकाज’ जर्नलमा प्रकाशित यस अध्ययनले ‘ग्लोबल बर्डेन अफ डिजिज ९जीबीडी० स्टडी’ का लागि सङ्कलन गरिएको अमेरिकाको तीन दशकभन्दा बढीको तथ्याङ्क विश्लेषण गरेको थियो। जिबीडी अध्ययन २०० भन्दा बढी देश र क्षेत्रहरूमा सयौँ जोखिमका कारक, रोग र स्वास्थ्य अवस्थाहरूबाट हुने स्वास्थ्य स्थिति, मृत्युदर र अपाङ्गताको मापन गर्ने एक विशाल वैज्ञानिक प्रयास हो।
सन् १९९० देखि २०२३ को बिचमा अमेरिकामा मदिरासँग सम्बन्धित क्यान्सरबाट हुने वार्षिक मृत्युको सङ्ख्या दोब्बरभन्दा बढीले वृद्धि भई ११,३६१ बाट २३,१२६ पुगेको छ।
५५ वर्ष वा सोभन्दा माथिका पुरुष र वयस्कहरूमा यसको सबैभन्दा ठूलो असर देखिएको छ। ३३ वर्षको अवधिमा वृद्ध पुरुषहरूमा मदिराजन्य क्यान्सरको मृत्युदर झन्डै २४ प्रतिशतले बढेको छ। पुरुषहरूमा कलेजोको क्यान्सरबाट हुने मृत्यु र मदिराबिच सबैभन्दा बलियो सम्बन्ध देखिएको छ।
त्यसपछि अन्ननली (इसोफेगस) र कोलोरेक्टल क्यान्सर पर्छन्। ५५ वर्ष र सोभन्दा माथिका महिलाहरूको हकमा मृत्युको मुख्य कारण स्तन क्यान्सर थियो भने त्यसपछि कलेजो र कोलोरेक्टल क्यान्सर रहेका थिए।
जानीका अनुसार ५५ वर्षभन्दा माथिका पुरुषहरूको तुलनामा जुनसुकै उमेरका महिलाहरू र ५५ वर्षभन्दा कम उमेरका पुरुषहरूमा क्यान्सरको जोखिम बढाउन थोरै मात्रामा मदिरा पिए पनि पुग्छ।
उनले भने, ‘यदि एउटी महिला वा कम उमेरका पुरुष वा महिलाले उही मात्रामा मदिरा सेवन गर्छन् भने, यसले क्यान्सर हुने सम्भावना धेरै उच्च बनाउँछ।’
अध्ययनले परीक्षण गरेका १० वटा क्यान्सरमध्ये मदिरासँग जोडिएका मृत्युमा सबैभन्दा कम वृद्धि प्रोस्टेट, प्यान्क्रियाज र पेटको क्यान्सरमा देखिएको थियो। तर समयसँगै ती पनि बढेको जानीले बताए।
ओठ, मुख, स्वरयन्त्र र अन्ननलीको क्यान्सरलगायत टाउको र घाँटीका घातक ट्युमरबाट हुने मृत्युमा मदिराले प्रमुख भूमिका खेलेको थियो। टाउको र घाँटीका क्यान्सरहरूमध्ये एक चौथाइसम्ममा मदिरालाई जोखिमको कारक मानिन्छ, ‘जसलाई स्पष्ट रूपमा रोक्न सकिन्थ्यो,’ जानीले भने।
‘हाम्रो अध्ययनसँग मदिरा सेवन पूर्ण रूपमा बन्द गर्नुपर्छ भनेर देखाउने तथ्याङ्क नभए तापनि, मदिराको प्रयोगलाई सकेसम्म कम स्तरमा झार्नु नै तपाईंको स्वास्थ्यका लागि सबैभन्दा राम्रो हुन्छ भन्ने सन्देश हामी दिन चाहन्छौँ।’
सीएनएन