वीरगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि पहिलो चरणमा १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
प्याब्सन पर्साका जिल्ला अध्यक्ष सरोजप्रसाद चौधरीका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत पर्सामा आबद्ध निजी विद्यालयहरूबाट संकलन गरिएको १५ लाख रुपैयाँको चेक प्याब्सन मधेस प्रदेशका अध्यक्ष गणेश साहलाई एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो।
चेक हस्तान्तरण कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष चौधरीले देश संकटमा परेको समयमा निजी विद्यालय क्षेत्र पनि पीडितको साथमा उभिनुपर्ने बताउँदै सरकारलाई सहयोग गर्न आफूहरू अग्रसर भएको बताए।
उनले विपद्को समयमा पीडित नागरिकलाई राहत उपलब्ध गराउनु सबैको सामाजिक दायित्व भएको उल्लेख गर्दै प्याब्सन पर्साले आफ्नो क्षमता र स्रोतअनुसार सहयोगलाई निरन्तरता दिने बताए।
प्याब्सन पर्साका महानगर अध्यक्ष राहुल श्रीवास्तवले बाढीका कारण धनजन तथा मानवीय क्षति व्यहोरेका परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको बताए। उनका अनुसार विपद्का बेला पीडित परिवारलाई सहयोग गर्नु मानवीय जिम्मेवारीसमेत हो।
त्यस्तै, प्याब्सन महानगर सचिव अमित आलोकले शिक्षा क्षेत्रमा आफ्नो जिम्मेवारी निर्वाह गर्नुका साथै प्राकृतिक विपद् तथा मानवीय संकटका समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको बताए।
कार्यक्रममा प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशीला शाह, सचिव अशोक संग्रौला, प्याब्सनका प्राज्ञिक केन्द्रीय सदस्य डा. हरिशंकर शाह, प्याब्सन मधेस प्रदेशका उपाध्यक्ष इमामुद्दिन अहमद, महानगर अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, सदस्य विजय बल, पूर्वसचिव सन्नी पाख्रिन, डीएभी स्कुलका प्रिन्सिपल राकेश मिश्रा लगायत विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक–शिक्षिका, विद्यार्थी तथा सञ्चारकर्मीको उपस्थिति थियो।
यसैबीच, प्याब्सनले देशभरका ७७ जिल्लाबाट आर्थिक सहयोग संकलन गरी प्रधानमन्त्री राहत कोषमा एकमुष्ट रकम जम्मा गर्ने तयारीसमेत गरिरहेको प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिए।
पहिलो चरणमा हस्तान्तरण गरिएको १५ लाख रुपैयाँले बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा केही सहयोग पुग्ने अपेक्षा गरिएको छ।