वीरगञ्ज । रसुवामा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत तथा पुनःस्थापनाका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) जिल्ला कार्यसमिति पर्साले १९ लाख ३२ हजार ९५५ रुपैयाँ आर्थिक सहयोग संकलन गरेको छ।
प्याप्सन पर्साको आह्वानमा जिल्लाका सदस्य विद्यालयहरु शिक्षकहरु, कर्मचारीहरु, विद्यार्थीहरु तथा अभिभावकहरूबाट उक्त रकम संकलन गरिएको प्याप्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीले जानकारी दिनुभएको छ।
संकलित रकम प्याप्सन केन्द्रीय कार्यसमितिमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको अध्यक्ष चौधरीले बताएका छन् । अध्यक्ष चौधरीका अनुसार रसुवा बाढीपीडितको राहतका लागि प्याप्सनको पहलमा देशभरबाट करिब १२ करोड रुपैयाँ आर्थिक सहयोग संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ।
प्राकृतिक विपत्तिको समयमा पीडित परिवारलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएकाले प्याप्सन पर्सासँग आबद्ध विद्यालयहरु शिक्षक शिक्षिकाहरू , कर्मचारीहरु, विद्यार्थीहरु तथा अभिभावकहरूले स्वस्फूर्त रूपमा सहयोग गरेको अध्यक्ष चौधरीले बताएका हुन।
बाढीका कारण प्रभावित बनेका परिवारहरुको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले संकलित उक्त रकम प्रधानमन्त्री राहत कोषमार्फत आवश्यक क्षेत्रमा परिचालन हुने विश्वास प्याप्सन पर्साले गरेको अध्यक्ष चौधरीले बताएका छन्।
त्यसैगरी प्याप्सन पर्साका सचिव अशोक संग्रौलाले बताएअनुसार प्याप्सन पर्साले आगामी दिनमा समेत विपद् तथा मानवीय संकटका समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग र सहकार्यलाई निरन्तरता दिदै अगाडि बढ्ने जनाएका छन् । प्याब्सन केवल शिक्षामा मात्र नभएर सामाजिक उत्तरदायित्व बहन गर्न सधैँ लागिपर्ने र उक्त अभियानमा सहकार्य र समन्वय गर्दै सधैँ अगाडि बढ्ने सचिव संग्रौलाले बताएका छन्