वीरगञ्ज । चीनमा आयोजना हुन लागेको २०२६ चाइना हाइनान ओपन युथ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने पर्साका खेलाडीलाई नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति पर्साले बिदाइ गरेको छ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ संघले खेलाडीहरूलाई फूलमाला, खादा तथा अबिर लगाएर बिदाइ गरेको हो।
प्रतियोगितामा पर्साबाट डिपिएस स्कुलमा अध्ययनरत ३९ केजी तौल समूहकी सान्भी शर्मा, ३३ केजी तौल समूहकी अवन्तिका झा तथा पुम्से विधातर्फ अवनसीका गुप्ता सहभागी हुने जनाइएको छ। टोलीको प्रशिक्षकमा दिपेश मानन्धर रहेका छन्।
बिदाइ कार्यक्रममा नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति पर्साका अध्यक्ष गणेशमान श्रेष्ठले खेलाडीहरूलाई प्रतियोगितामा आत्मविश्वासका साथ उत्कृष्ट प्रदर्शन गर्दै नेपालको नाम अन्तर्राष्ट्रियस्तरमा उच्च राख्न शुभकामना दिनुभयो।
उहाँले खेलाडीको मेहनत, अनुशासन र आत्मविश्वासले देशको गौरव बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै प्रतियोगितास्थलमा नेपालको झण्डा फहराउने गरी उत्कृष्ट प्रदर्शन गर्न आग्रह गर्नुभयो।
बिदाइ समारोहमा नेपाल तेक्वान्दो संघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रबहादुर क्षेत्री, उपाध्यक्ष रमेश नारायण मानन्धर, कोषाध्यक्ष राजेन्द्र खड्गी, सदस्य नाजिया सिद्दिकी, जिल्ला खेलकुद विकास समितिका प्रमुख नाजिर हुसेन अन्सारी, प्रशिक्षक दिपेश मानन्धर, सिनियर खेलाडी विक्रान्त डंगोल, लालबाबु यादव र आसिफ हुसेन अन्सारीसहित खेलाडी तथा अभिभावकहरूको उपस्थिति थियो।
संघले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन लागेका पर्साका खेलाडीहरूको सफल यात्रा तथा उज्ज्वल खेलजीवनको कामना गरेको छ।