वीरगञ्ज । श्री गहवा माई तीर्थ क्षेत्र विकास समिति, पर्साले रसुवा जिल्लाका बाढीपीडितका लागि २ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
समितिले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित रसुवाका नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी चेकमार्फत हस्तान्तरण गरेको हो।
समितिका अध्यक्ष श्याम पोखरेलले सहयोग रकमको चेक पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील साह कानुमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको जानकारी दिनुभयो।
प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने सामाजिक अभियानअन्तर्गत समितिले सहयोग गरेको अध्यक्ष पोखरेलले बताउनुभयो। उहाँले विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सांसद सुशील साह कानुले रसुवा बाढीपीडितका लागि गहवा माई तीर्थ क्षेत्र विकास समितिले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै संकलित रकम पीडितको राहत तथा उद्धारमा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।
समितिले प्राकृतिक विपद्का समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले सहयोग गरेको जनाएको छ। अध्यक्ष पोखरेलले आफ्नो तर्फबाट गरिएको सहयोगले विपद्मा परेका परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
चेक हस्तान्तरण कार्यक्रममा समितिका उपाध्यक्ष देवनन्द कलवार, सचिव लक्ष्मी नारायण गुप्ता, कोषाध्यक्ष रविशंकर अग्रवाल तथा सदस्यहरू अनुपकुमार अग्रवाल, सीताराम उपाध्यायलगायतको सहभागिता थियो।