वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा एकदिने निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ। नेपाल नागरिक फाउन्डेसन पर्सा, वीरगञ्जको आयोजनामा तथा वीरगञ्ज सामुदायिक आँखा अस्पतालको सहयोगमा शिविर सञ्चालन गरिएको हो।
फाउन्डेसनका अध्यक्ष सुरज महतो धानुकको सभापतित्व तथा नेता सुन्दर कुर्मीको प्रमुख आतिथ्यमा सम्पन्न शिविरमा स्थानीय बासिन्दाको निःशुल्क आँखा परीक्षण गरिएको थियो।
शिविरमा विशेषगरी ज्येष्ठ नागरिक तथा अल्पसंख्यक समुदायका व्यक्तिलाई लक्षित गरी सेवा प्रदान गरिएको अध्यक्ष धानुकले बताए। आर्थिक रूपमा कमजोर तथा उपचारको पहुँचबाट टाढा रहेका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको उनले बताए।
‘आँखा परीक्षणसँगै आवश्यक देखिएका बिरामीको निःशुल्क शल्यक्रियासमेत गराउने उद्देश्यले वीरगञ्ज सामुदायिक आँखा अस्पतालसँग समन्वय र सहकार्य गरेका हौँ,’ अध्यक्ष धानुकले भने।
वीरगञ्ज सामुदायिक आँखा अस्पतालका चिकित्सक महेश सिंह धामीको नेतृत्वमा प्राविधिक टोलीले शिविरमा सेवा दिएको थियो। टोलीमा राजेश चौधरी, श्रुति चौधरी, ओमप्रकाश दास थारूलगायत स्वास्थ्यकर्मी सहभागी थिए।
शिविरमा ८५ जनाको आँखा परीक्षण गरिएकोमा २५ जनामा मोतियाबिन्दुको समस्या देखिएको चिकित्सक धामीले जानकारी दिए। मोतियाबिन्दु देखिएका बिरामीलाई आवश्यक उपचार तथा थप स्वास्थ्य परामर्शका लागि शनिबार सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाव दिइएको छ।
शिविरमा वीरगञ्ज महानगरपालिका–११ का वडाध्यक्ष अजय चौरसिया, पूर्ववडाध्यक्ष प्रदुमन सेढाई, फाउन्डेसनका सचिव रामपित महतो धानुक, कोषाध्यक्ष ज्ञानेन्द्र महतो धानुक, सदस्य राजकुमार महतो धानुक, राम शाहलगायतको सहभागिता रहेको थियो।
शिविरमा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको फाउन्डेसनका अध्यक्ष धानुकले बताए।