वीरगञ्ज । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि वीरगञ्जस्थित कादम्बरी एकेडेमीले १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
विद्यालयका प्रिन्सिपल राजेन्द्र आचार्यका अनुसार बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै उनीहरूको पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो। सहयोग रकम विद्यालय व्यवस्थापन तथा सञ्चालक समिति, शिक्षक–शिक्षिका, कर्मचारी र विद्यार्थीहरूको तर्फबाट संकलन गरिएको उनले जानकारी दिए।
प्राकृतिक विपत्तिका कारण प्रभावित परिवारको दैनिक जीवनमा कठिनाइ उत्पन्न भएकाले उनीहरूको राहत तथा पुनःस्थापनामा सहयोग गर्नु विद्यालयको सामाजिक उत्तरदायित्व भएको प्रिन्सिपल आचार्यले बताए।
उनले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु मानवीय दायित्वसमेत भएकाले विद्यालयले राहत तथा पुनःस्थापनाको अभियानमा आफ्नो तर्फबाट सहयोग गरेको बताए। आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार सामाजिक तथा मानवीय सेवाका कार्यमा निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता उनले व्यक्त गरे।
सहयोग रकमको चेक हस्तान्तरण कार्यक्रममा विद्यालयका सञ्चालक दीपककुमार तुलस्यान, सुशील भट्टराई, एनप्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामविनय चौरसिया, एनप्याब्सन वीरगञ्ज नगर अध्यक्ष जियालाल गुप्ता, नगर सचिव शेख अजयलगायतको उपस्थिति थियो।
कार्यक्रममा सहभागीहरूले विपद्का बेला विद्यालय, विद्यार्थी, शिक्षक तथा अभिभावकको सामूहिक पहलबाट गरिएको सहयोगले प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।