वीरगञ्ज । वीरगञ्जस्थित ज्ञानदा एकेडेमीमा कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीका लागि ‘स्वागत तथा अभिनन्दन कार्यक्रम’ आयोजना गरेका छन्। विद्यार्थीबीच आत्मीयता, सहकार्य र सकारात्मक शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्यले आयोजित कार्यक्रम दुई चरणमा सम्पन्न भएको हो।
ज्ञानदा एकेडेमीका सीईओ तथा प्रिन्सिपल राजेन्द्र प्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थी, शिक्षक, प्रशासनिक कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल कोइरालाले विद्यार्थीलाई अध्ययनसँगै अनुशासन, निरन्तर मिहिनेत र इमान्दारितालाई जीवनको आधार बनाउन सुझाव दिए। जीवनमा आइपर्ने चुनौती र संघर्षबाट विचलित नभई आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहनुपर्नेमा उनले जोड दिए।
विद्यार्थीले आफ्नो भविष्य निर्माणका क्रममा असल व्यक्तिको संगत गर्न, राम्रो आचरण कायम राख्न तथा इमान्दारिताका साथ अघि बढ्ने बानी विकास गर्नुपर्ने प्रिन्सिपल कोइरालाको भनाइ थियो। उनले शैक्षिक सफलता मात्र नभई असल संस्कार र सकारात्मक व्यवहारले विद्यार्थीको व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रमको औपचारिक सत्रमा उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने कक्षा १२ का विज्ञान, व्यवस्थापन र कानुन संकायका कक्षा टपर्स विद्यार्थीलाई प्रशंसापत्रसहित सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
त्यसैगरी, शिक्षा क्षेत्रमा पुर्याएको योगदान तथा विद्यालयका गतिविधिलाई समाचारका माध्यमबाट प्रवाह गर्न सहयोग गरेको भन्दै कार्यक्रममा उपस्थित ९ जनाभन्दा बढी सञ्चारकर्मीलाई विशेष सम्मान गरिएको थियो।
कार्यक्रमको दोस्रो चरणमा विद्यार्थीहरूले आफ्ना विभिन्न प्रतिभा तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। गीत, संगीत, नृत्यलगायतका सिर्जनात्मक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक र ऊर्जावान् बनाएको थियो। नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्ने क्रममा कक्षा १२ का विद्यार्थीहरूले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रमले सहभागीबीच उत्साह थपेको थियो।
कार्यक्रममा शिक्षक तथा प्रशासनिक कर्मचारीहरूले विद्यार्थीको शैक्षिक प्रगति, अनुशासन र व्यक्तित्व विकासका लागि विद्यालयले निरन्तर सहजीकरण गर्दै आएको बताएका थिए।
कार्यक्रमको उद्घोषण कक्षा १२ का विद्यार्थी रिजा श्रेष्ठ र सञ्जना चौरसियाले गरेका थिए भने वासिम हुसेनले धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रमले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई विद्यालयको शैक्षिक तथा सामाजिक वातावरणसँग परिचित गराउनुका साथै कक्षा ११ र १२ का विद्यार्थीबीच आपसी सम्बन्ध र सहकार्य बढाउन सहयोग पुगेको आयोजकले जनाएको छ।