वीरगञ्ज– किरात राई पत्रकार संघको छैटौँ केन्द्रीय अधिवेशन भोजपुरमा सम्पन्न भएको छ। अधिवेशनले अवतार राईको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
किरात राई यायोक्खाका उपमहासचिव अर्जुन जम्नेली राईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट अवतार राई अध्यक्षमा चयन भएका हुन्। अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा रीता राराहाङ राई, उपाध्यक्षमा विशाल राई र बुद्धि चाम्लिङ, महासचिवमा नुनुता राई चयन भएका छन्।
त्यस्तै, सचिवमा राजकुमार इशारा राई, विवेक राई र दिलबहादुर राई तथा कोषाध्यक्षमा धनबोल राई चयन भएका छन्। सदस्यहरूमा बबिता चाम्लिङ, प्रदीपचन्द्र राई, तेज किराती लगायत चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै प्रमुख अतिथि अर्जुन जम्नेली राईले नयाँ नेतृत्वले किरात राई समुदायको भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा उत्थानमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा व्यक्त गरे।
उनले किरात राई समुदायको पहिचान, हक–अधिकारलगायतका विषयलाई पत्रकारितामार्फत थप प्रभावकारी रूपमा उठान गर्दै नयाँ नेतृत्वले समुदायलाई पत्रकारिताको क्षेत्रमा अझ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
नवनिर्वाचित नेतृत्वले समुदायको भाषा, संस्कृति, पहिचान र अधिकारका सवाललाई प्राथमिकतामा राख्दै पत्रकारितामार्फत आवाज बुलन्द गर्ने प्रतिबद्धता जनाएको छ।