बीरगंज, ११ असार– नेपाल पर्यटन बोर्ड र नाट्टा केन्द्रीय समितिको सहयोग तथा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (NATTA) मधेश प्रदेशको समन्वयमा तीनदिने ‘टुर प्याकेज निर्माण तालिम’ मधेश प्रदेशमा पहिलोपटक सफलता पूर्वक सम्पन्न भएको छ। तालिम असार ९ गतेदेखि ११ गतेसम्म बीरगंजस्थित होटल मकालुमा सञ्चालन गरिएको थियो।
तालिममा काठमाडौँबाट आएका पर्यटन क्षेत्रका अनुभवी विज्ञ प्रशिक्षकहरूद्वारा सहभागीहरूले टुर प्याकेज निर्माणका विविध पक्षहरूबारे व्यावसायिक तथा प्राविधिक ज्ञान दिइएका थिए। कार्यक्रममा HAN मधेश प्रदेशमा आवद्ध स्तरीय होटलहरूका कर्मचारी तथा संचालकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। तालिमले पर्यटन व्यवसायको नयाँ सम्भावनाहरू पहिचान गर्न, स्थानीय स्रोत र आकर्षण समेटेर व्यावसायिक प्याकेजहरू तयार पार्ने सीप विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले बताएका छन्।
समापन कार्यक्रम नाट्टा मधेश प्रदेश अध्यक्ष मोहन प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि बीरगंज महानगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत अर्बिन्दलाल कर्ण रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरी गौतम, मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, उद्योग विभागका सुशील साह, प्रशिक्षक विनय शाक्य लगायत पर्यटन, शिक्षा र व्यवसाय क्षेत्रका अन्य विशिष्ट व्यक्तित्वहरू तथा संचारकर्मीहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन शिवम साहले गर्नुभएको थियो, जसले सम्पूर्ण सत्रहरू संयोजन गर्दै सहभागीहरूलाई तालिमको उद्देश्य र महत्त्व बारे स्पष्ट पारेका थिए।
नाट्टा मधेश प्रदेशका अनुसार यो तालिम मधेशमा पर्यटन व्यवसायको दिगो विकास, नयाँ टुर प्याकेजहरूको निर्माण र त्यसको व्यावसायिक रूपान्तरणतर्फ एक महत्वपूर्ण पाइला भएको छ। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई आगामी दिनमा आफ्नो सेवा र व्यवसायमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
यस कार्यक्रमले मधेश प्रदेशको पर्यटन क्षेत्रको वृद्धि र प्रवर्धनमा उल्लेखनीय योगदान पुर्याउने विश्वास लिइएको छ।
