असार : कृषिप्रधान देश भएकोले पनि सरकारले ‘राष्ट्रिय धान दिवस’को रूपमा मनाइने असार १५ मा आज देशभर विविध कार्यक्रमको आयोजना गरि मनाइरहेको छ । रोपाइँ, झाँकी तथा सांस्कृतिक प्रस्तुतिहरूका साथ धान दिवसको उत्सव मनाइँदै हो । तर अर्कोतर्फ, देशका थुप्रै ठाउँका किसान भने रासायनिक मल अभावका कारण बाली लगाउने कि नलगाउने भन्ने अन्योलमा छन्। यत पर्सा जिल्लाका किसानले धान रोपाइँ सुरु भइसक्दा पनि रासायनिक मल पाउन सकेका छैन्। पर्सा जिल्लामा पनि धान दिवस मनाइरहेका छन् ।
पर्साका विभिन्न पाटीका नेता कार्यकर्ताहरुलेले धान दिवसमा खेतमा गएर फोटो खिचाउने काम , रमाईलो गर्ने र किसानहरुलाई आफ्नो नाटक प्रर्दशन गर्ने आदी रुपमा मनाइरहेका छन् । जिल्लामा रासायनिक मलको अभाव हुदाँपनि नेताहरु ध्यान नदिएको किसानहरु गुनासो गरेका छन् ।
मुख्य बालीको मौसम सुरु भइसके पनि किसानहरू युरिया, डीएपी र पोटास जस्ता आवश्यक रासायनिक मलको अभाव झेलिरहेका छन्।
जिल्लामा मल नपाएर धान रोपाइँ ढिलाइ भइरहेको छ। मल नभई नहुने अवस्था रहेको किसानहरु बताउँछन् । अब रोपाइँ कसरी गर्ने भन्ने चिन्ताले सताएको किसान रमेश साहले बताए । उनले भन्छन्, “धान दिवस भनेको किसानको चाड हो। तर मल नपाएर म उत्सव मनाउने होइन, चिन्ता मनाउँदैछु।” उनका अनुसार बजारमा मल पाइँदैन, पाइए पनि कालोबजारीमा दोब्बर मूल्यमा लिनुपर्ने बाध्यता छ।
आकाशे पानी र नहरहरुको भरमा पर्सा किसानले धानको खेती गर्दै आएका छन् । तर, अहिले धान रोप्ने समय हुन लाग्दासमेत पर्याप्त वर्षा भएको छैन । नहरहरुमा पनि पानी नआएका कारण पर्साका किसानले रोपाइँ गर्न पाएका छैन् ।
तराईका किसानहरुको लागि सिचाइको प्रमुख स्रोत रहेको गण्डक नहर भएपनि समयमा पानी नआउदा किसानहरु मरमा परेका छन । गण्डक नहरको सीमा क्षेत्र पर्सा जिल्लाको जानकीटोला देखि रौतहटको बाग्मती खोलासम्म हुदा पनि खेतीपाती गर्नको लागि आकाशे पानीको निर्भर पर्नु पर्छ ।
विन्दवासिनीका किसान लक्ष्मण राउतले भण्डारीले भने, “सरकार भाषणमा किसानको कुरा गर्छ, तर व्यवहारमा सहयोग देखिँदैन। समयमै मल नभए बालीको उत्पादन घट्छ, त्यसको असर वर्षभरि भोग्नुपर्छ।”
एकातर्फ ‘धान दिवस’का नाममा सरकार कार्यक्रम गर्दैछ, अर्कातर्फ किसान मल नपाएर बाली लगाउने–नलगाउने अन्योलमा छन्। सरकारले भाषणभन्दा व्यवहारमा सुधार गरेर किसानको समस्या समाधान गर्न सके मात्र धान दिवसको सार्थकता हुने जानकारहरु बताउँछन्।
सिंचाइ र मलको अभावका कारण पर्सामा असार १५ गते सम्म २० प्रतिशत मात्र रोपाइ भएको छ । ८० प्रतिशत खेत बाँझै रहेको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ । जिल्लामा रोपाइँ हुने क्षेत्रफलका आधारमा वार्षिक करिब ७२ हजार मेट्रिक टन मल आवश्यक पर्ने गर्छ । धान बालीका लागि कम्तिमा ४४ हजार मेट्रिकटन मल चाहिने उक्त कार्यालयले जनाएको छ । तर, धान रोपाइँकै समयमा जिल्लामा मल अभाव रहेको छ ।