वीरगञ्ज : मुलुककै प्रमुख व्यापारिक नाकाको रुपमा चिनिने वीरगञ्ज पछिल्ला वर्षहरूमा निरन्तर संकटसँग जुधिरहेको छ। भारतसँगको नाकाबन्दीले व्यापार र व्यवसाय ठप्प पारेको केही वर्ष नबित्दै कोभिड–१९ महामारीको सबैभन्दा ठूलो प्रहार यतै परेको थियो। अहिले फेरि वीरगञ्ज हैजाको प्रकोपसँग जुध्न बाध्य भएको छ।
नारायणी अस्पताल लगायत स्वास्थ्य संस्थामा झाडा–पखालाका बिरामीको संख्या दिनानुदिन बढिरहेको छ। विद्यार्थीदेखि सर्वसाधारणसम्म हैजाको संक्रमण पुष्टि भइसकेको छ भने अस्पतालमा बेड अभावको समस्या देखिएको छ। वीरगञ्ज महानगरपालिकाले आकस्मिक बैठक गर्दै विद्यालय अस्थायी रुपमा बन्द गर्ने र सडक छाप–पुचका खाद्यवस्तुको बिक्रीमा रोक लगाउने निर्णय गरेको छ।
यता वीरगन्जका विभिन्न अस्पतालमा ९गते शुक्रबारदेखि मंगलबार साँझ ६ बजेसम्म११४ जनामा हैजाको संक्रमण पुष्टि भएको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरले जानकारी दिए । मंगलबार २१ जनामा मात्र हैजाको संक्रमण पुष्टि भएको उनले बताए ।उनका अनुसार, मंगलबार साँझ ६ बजेसम्म वीरगन्जमा कूल ४२२ जना झाडापखालाबाट संक्रमित भएकोमा तीमध्ये अस्पतालमा उपचारपछि निको भएर २२३ जना घर फर्किसकेका छन् ।
स्थानीयवासीहरू भने आधारभूत खानेपानी र सरसफाइ नहुँदा रोग नियन्त्रण कठिन बनेको गुनासो गर्छन्। ठूला–ठूला विकासका घोषणा भए पनि नागरिकको स्वास्थ्य सुरक्षामा भने सुधार हुन नसकेको उनीहरूको आक्रोश छ।
स्वास्थ्य विशेषज्ञका अनुसार कोभिड–१९ जस्तै हैजाले पनि वीरगञ्जलाई गम्भीर रुपमा प्रभावित पार्ने खतरा छ। समयमै खानेपानी शुद्धिकरण, सरसफाइ सुधार र जनचेतना अभियानलाई प्रभावकारी नबनाए रोग नियन्त्रण कठिन हुने चेतावनी उनीहरूको छ।
वीरगञ्जका बजार व्यवसायीहरूले भने हैजाले व्यापारमा असर पर्ने डर व्यक्त गरेका छन्। “पहिले नाकाबन्दी, पछि कोरोना, अहिले हैजा—तीनपटक संकटले हाम्रो व्यापारलाई कमजोर बनायो। सरकारले तत्काल स्वास्थ्य सुरक्षा र सरसफाइमा ध्यान दिनुपर्छ,” एक व्यवसायीले भने ।
नाकाबन्दी, कोरोना र अहिले हैजा—पछिल्ला केही वर्षमा वीरगञ्जले सामना गरेको यी तीन ठूला चुनौतीले शहरको आर्थिक र सामाजिक संरचनालाई कमजोर बनाएको छ। जनप्रतिनिधि र सरोकारवालाहरूले आगामी दिनमा स्वास्थ्य सुरक्षा, सरसफाइ सुधार र जनचेतना कार्यक्रमलाई प्रभावकारी बनाउने आवश्यकतामा जोड दिएका छन्।