वीरगञ्ज : संविधान दिवसका दिन वीरगञ्जमा ७ दलीय मधेसी मोर्चाले विरोध कार्यक्रम आयोजना गरेको छ। संविधानले मधेसलाई दिएको अधिकार अपुरो र विभेदपूर्ण रहेको भन्दै मोर्चाले शुक्रबार हातमा कालो पटी बाँधेर दिवस मनाएको हो।
मोर्चाले वीरगञ्जको घण्टाघरस्थित शहीद स्मारकमा पुगेर मधेस आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सालिकमा माल्यार्पण गरेको छ। कार्यक्रममा सहभागी कार्यकर्ता र नेताहरूले संविधानले मधेसलाई समान अधिकार नदिएको तथा संविधानका कमजोरी सच्याउन आवश्यक रहेको बताएका छन्।
कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साका अध्यक्ष रामनरेश यादव, जनमत पार्टीकी नेतृ करिमा बेगम, सशिकपुर मियाँ, निजामुदिन असारीसहित ७ दलीय मधेसी मोर्चाका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो। उनीहरूले संविधान दिवसलाई उत्सवको रूपमा होइन, अधिकार र पहिचानका सवालमा अझै अधुरो यात्रा सम्झाउने दिनका रूपमा मनाउनुपरेको बताएका थिए।
नेताहरूले संविधान निर्माण प्रक्रियामा मधेसको वास्तविक प्रतिनिधित्व र मागलाई बेवास्ता गरिएको आरोप लगाउँदै मधेसी, थारू, आदिवासी–जनजाति, मुस्लिमलगायत समुदायका अधिकार सुनिश्चित गर्न संविधान संशोधन अपरिहार्य रहेको धारणा राखे।
जसपा नेपाल अध्यक्ष यादवले मधेस आन्दोलनको बलिदान र संघर्षलाई बिर्सन नहुने बताउँदै, “संविधानले अझै मधेसलाई न्याय दिएको छैन, त्यसैले हाम्रो संघर्ष जारी रहनेछ,” भनेर स्पष्ट पारे।
जनमत नेतृ करिमा बेगमले महिलामाथि हुने भेदभाव अन्त्य गर्दै समानुपातिक हक सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्। कार्यक्रममा उपस्थित मोर्चाका कार्यकर्ताहरूले हातमा कालो पटी बाँधेर संविधानप्रति असन्तुष्टि व्यक्त गरेका थिए।
मधेसी मोर्चाले संविधान दिवसमा गरेको यस विरोध प्रदर्शनलाई स्थानीयले पनि नजिकैबाट अवलोकन गरेका थिए। कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।