गढिमाई मेलामा बृहत् कृषि प्रदर्शनी आयोजना गरिएको छ । बाराको महागढिमाई नगरपालिकामा सञ्चालित विश्वप्रसिद्ध पञ्चवर्षीय गढिमाई मेलामा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेको यस प्रदर्शनीको आयोजना कनेक्ट किसान प्रालिले गरेको हो । प्रदर्शनीमा स्थानीय उत्पादन, रैथाने बाली, कृषि उपकरण तथा सेवाहरूको प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न जिल्लाका उत्पादनलाई स्थान दिइएको छ । यस अन्तर्गत सिन्धुलीको जुनार, रौतहटको ड्रागन फ्रुट, नुवाकोटको कफी, वीरगञ्जको च्याउ र दही, चितवनको बेसार, सप्तरीको अचार, र प्युठानको अर्गानिक मह विशेष आकर्षणका रूपमा राखिएको छ । साथै, सात प्रदेशका मौलिक परिकारहरू, जस्तै कोदोको सेलरोटी, खुवाको योमरी, गुन्द्रुकको अचार, र स्थानीय खाना प्रदर्शनीमा समावेश गरिएको छ ।
कृषिमा आधुनिक प्रविधिको उपयोगलाई प्रोत्साहन गर्न थोपासिँचाइ प्रविधि, नर्सरी, माछापालन, तथा कृषि उपकरणका प्रदर्शन गरिएको छ । किसानले कृषि तथा पशु सेवासँग सम्बन्धित समस्या र अवसरका विषयमा प्रत्यक्ष रूपमा विशेषज्ञसँग छलफल गर्न सक्ने व्यवस्था गरिएको छ ।यस वर्षको मुख्य आकर्षण भनेकै किसान र रोबोटबीचको संवाद हो । कनेक्ट किसानका प्रतिनिधि राजन दहालका अनुसार, कृषि समस्या समाधान गर्न किसानले रोबोटसँग सिधै प्रश्न गर्न सक्ने प्रविधि विकास गरिएको छ ।
प्रदर्शनीमा नेपाल सरकारको विभिन्न निकायहरू, जस्तै कृषि विभाग, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, र कृषि उपकरण अनुसन्धान केन्द्रका साथै निजी क्षेत्रका प्रतिष्ठित कम्पनीहरूको सहभागिता रहेको छ । प्रदर्शनीले किसान, कृषि उद्यमी, उपभोक्ता, तथा कृषि सम्बन्धित सेवाप्रदायकहरूलाई एकै ठाउँमा ल्याएर सहकार्यलाई थप प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।