तामागढी–सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समितिले बिहीबार बीरगंजमा सरकारले मुआब्जा वितरणमा गरेको ढिलासुस्तीको विरोधमा सडक प्रदर्शन गरेको छ। विगत लामो समयदेखि जग्गाको क्षतिपूर्ति नपाएको भन्दै समितिले सरकारको लापरवाहीविरुद्ध आक्रोश पोखेको हो।
समितिका अध्यक्ष अनवर अन्सारी र रामबाबु साह तेलीको संयुक्त नेतृत्वमा विरोध ¥याली घन्टाघरबाट सुरु भई लिङ्ग रोड हुँदै सडक विभाग र हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय बीरगंजसम्म पुगेको थियो। भिसुवामा आयोजित धर्ना तथा विरोध सभामा सहभागीहरूले तत्काल मुआब्जा वितरण गर्न सरकारलाई चेतावनी दिएका थिए।
सरकारको राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने हुलाकी सडक योजनाअन्तर्गत बारा जिल्लाको मानमत, कलैया, मतिअर्वा, तामागढी–सिम्रौनगढ र बीरगंज–ठोरी सडकखण्ड निर्माणका क्रममा १४४४ घरधुरीको करिब ६५ बिघा जग्गा अधिग्रहण गरिएको थियो। तर, करिब २ अर्ब ९७ करोड ७८ लाख ४० हजार ६२५ रुपैयाँ बराबरको मुआब्जा अझै वितरण हुन सकेको छैन।
संघर्ष समितिका सदस्य सुन्दर चौधरीका अनुसार पटक–पटक आन्दोलन र ज्ञापनपत्र बुझाउँदा पनि सरकारले कुनै चासो नदेखाएपछि बाध्य भएर पुनः आन्दोलन सुरु गरिएको हो। “हामी वर्षौंदेखि क्षतिपूर्ति माग्दै आएका छौं। तर, सरकारी निकायहरूले सुनुवाइ नगरेपछि सडकमा आउनु पर्यो,” उनले भने।
उनका अनुसार सरकारले राष्ट्रिय योजना अगाडि बढाउने नाममा सर्वसाधारणको जग्गा अधिग्रहण गरेर क्षतिपूर्ति नदिनु ठुलो अन्याय हो। “सरकारले हाम्रो माग सम्बोधन नगरे थप कडा आन्दोलन गरिनेछ,” उनले चेतावनी दिए।

संघर्ष समितिले सरकारले तत्काल मुआब्जा वितरण गरी पीडित किसान तथा घरधुरीलाई न्याय दिलाउन माग गरेको छ। विरोध कार्यक्रममा समितिका उपाध्यक्ष दय शंकर मैनाली, सुरेन्द्र चौधरी, कोषाध्यक्ष प्रकाश चौधरी, भागरीत साह, सचिव रामानन्द चौधरी, श्याम सुन्दर चौधरी, राधिका देवी चौधरी, लिलावती चौधरी, गोविन्द मैनाली, जगरनाथ प्रसाद चौधरी, राजदेव चौधरी, सल्लाहकार हुनडीराज उप्रेती लगायतको उपस्थिति थियो।