वीरगञ्ज– सनसाइन बोर्डिङ स्कुलले होली पर्वको अवसर पारेर हिजो (शुक्रबार) होली मिलन समारोह सम्पन्न गरेको छ। विद्यालयका सञ्चालक तथा प्याप्सन महानगर सचिव अमित आलोकको अध्यक्षता तथा प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै राहुल श्रीवास्तवले होली पर्वले नेपाली समाजमा सद्भाव र भाइचाराको सन्देश फैलाउने बताउँदै शान्तिपूर्ण रूपमा होली मनाउन सबैलाई आग्रह गरे। उनले विभिन्न जात, धर्म र संस्कृतिका नेपालीहरूले एकआपसमा प्रेम र सद्भाव साटासाट गर्दै रङ्गजस्तै विविधता स्वीकार गरेर पर्व मनाउनुपर्ने धारणा राखे।
त्यस्तै सनलाइट कलेजका प्रिन्सिपल तथा हिसानका उपाध्यक्ष एवं प्याप्सनका प्रमुख सल्लाहकार आलोक चौरसियाले पनि होलीले समाजमा एकता र खुशी ल्याउने भएकाले सबैले शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा पर्व मनाउनुपर्ने बताए।
कार्यक्रममा प्याप्सन पर्सा जिल्ला सचिव अशोक संग्रौला, महानगर सदस्य विजय बल, मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश मानव, प्याप्सन महानगर उपाध्यक्ष शर्मानन्द कुशवाहा, सन्नी पाख्रिङ तथा प्याप्सन कोषाध्यक्ष सुरज बाबु पटेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सहजीकरण शिक्षक दीपक कुसुहाले गरेका थिए। कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, सञ्चारकर्मी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो। विद्यालयले यस्ता सांस्कृतिक कार्यक्रममार्फत विद्यार्थी र समाजबीच सद्भाव र एकता सुदृढ गर्ने लक्ष्य राखेको जनाएको छ।