वीरगञ्ज । संघीय अध्ययन केन्द्र मधेस विश्वविद्यालयको आयोजनामा बीरगञ्ज उद्योग वाणिज्य सङ्घको सभा हलमा अन्तर प्रदेश शिक्षा सम्मेलन सम्पन्न भएको छ। सम्मेलनमा सातवटै प्रदेशका विश्वविद्यालयहरूले आफ्नो कार्यविधि, उपलब्धि तथा आगामी कार्यदिशाबारे प्रस्तुति दिएका छन्।
कार्यक्रम मधेस प्रदेश सरकारको शिक्षा तथा सांस्कृतिक मन्त्रालयकी शिक्षामन्त्री रानीकुमारी तिवारी तथा मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यको संयुक्त अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा मधेस प्रदेश प्रमुख कार्यालयका प्रमुख सुरेन्द्रलाल कर्ण प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
सम्मेलन उद्घाटन गर्दै प्रमुख अतिथि कर्णले संघीयता कार्यान्वयनसँगै विश्वविद्यालयहरूले विद्यार्थीको हकहितका लागि अझ जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता औंल्याए। उनले प्रदेश सरकारले विश्वविद्यालयप्रति संवेदनशील भई नीति तथा योजनामार्फत पर्याप्त बजेट विनियोजन गर्नुपर्ने धारणा राखे।
उनले सातवटै प्रदेशका विश्वविद्यालयहरूले प्रस्तुत गरेका प्रतिवेदन तथा भावी योजनाहरू सकारात्मक रहेको उल्लेख गर्दै ती योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके उच्च शिक्षा क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने बताए।
सम्मेलनमा कोशी प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्रीहरू, विभिन्न प्रदेशका विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार, डीन, प्रदेश सचिव तथा शिक्षासम्बद्ध व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा गण्डकी विश्वविद्यालय, बागमती विश्वविद्यालय, लुम्बिनी प्राविधिक विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय तथा मधेस कृषि विश्वविद्यालय लगायतका विश्वविद्यालयका प्रतिनिधिहरूले आफ्नो संस्थाको कार्यप्रगति, शैक्षिक नीति तथा भावी योजनाबारे प्रस्तुति दिएका थिए।
कार्यक्रममा संघीय अध्ययन केन्द्रका अध्यक्ष डा. खिमराज देवकोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन मधेस विश्वविद्यालय का रजिस्ट्रार विजय यादवले गरेका थिए। कार्यक्रममा सहभागी अतिथि तथा विशिष्ट व्यक्तिहरूको समन्वय र सहकार्य विश्वविद्यालयकी प्रशासन प्रमुख रजनी कुमारीले गरेकी थिइन्।