वीरगञ्ज– वीरगञ्ज महानगरपालिका–८, पानीटंकीस्थित लिटिल बडी प्रि-स्कुलले जनजाति कल्याण आश्रम नेपाल, पर्सामा रहेका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।
विद्यालयका प्रिन्सिपल विजय बलको नेतृत्वमा गएको टोलीले आश्रमका बालकहरूको अध्ययनमा सहयोग पुग्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेको हो। प्रिन्सिपल बलले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताए।
कार्यक्रममा माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल तथा प्याप्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवले आश्रमका बालबालिकाले निजी विद्यालयमा अध्ययन गर्न चाहेमा निःशुल्क शिक्षाको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आफ्नो विद्यालयमा समेत इच्छुक विद्यार्थीलाई बिना शुल्क अध्ययनको अवसर प्रदान गर्ने घोषणा गर्दै प्याप्सनमा आबद्ध ६० वटा विद्यालयमार्फत पनि सहजीकरण गर्ने बताए।
त्यसैगरी इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, पत्रकार जगत राईलगायतले आश्रमका बालबालिकालाई निजी विद्यालयमा अध्ययनका लागि आवश्यक सहजीकरण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए। उनीहरूले विद्यार्थीहरूलाई स्पष्ट लक्ष्य निर्धारण गरी लगनशीलतापूर्वक अध्ययन गर्न सुझाव दिएका थिए।
शैक्षिक सामग्री वितरण कार्यक्रममा जनजाति कल्याण आश्रम पर्सा–वीरगञ्जका सहर छात्रावास प्रमुख दिनेश प्रताप पासवान, राष्ट्रिय छात्रावास प्रमुख महेश्वर हाँस्दा, सह–कोषाध्यक्ष गणेश अग्रवाल, लिटिल बडी प्रि-स्कुलका शिक्षिकाहरू खुसी श्रेष्ठ, शोभा शाह, दीपा राई, श्वेता गुप्ता, सिसान चौधरी, पत्रकार दिपु वर्णवाललगायतको उपस्थिति रहेको थियो।