वीरगञ्ज– समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालयमा मंगलबार लागू औषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान–२०८३ सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा लागू औषध तथा मदिरा सेवनका दुष्प्रभावबारे जानकारी गराइएको थियो। कार्यक्रम सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, श्रीपुर–११ का अध्यक्ष राम सरार्फको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका सहायक प्रहरी निरीक्षक रुपेश प्रसाद कुशवाहाले लागू औषध तथा मदिरा सेवनले व्यक्तिको जीवन, परिवार र समाजमा नकारात्मक असर पार्ने भएकाले समयमै सचेत हुन आवश्यक रहेको बताउनुभयो। उहाँले पछिल्लो समय युवापुस्तामा जाँडरक्सी, चुरोट तथा लागू औषध सेवनको प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै विद्यार्थीहरूलाई यस्ता दुर्व्यसनबाट टाढा रहन आग्रह गर्नुभयो।
उहाँले लागू औषध सेवनका कारण मानसिक सन्तुलन गुम्ने, आर्थिक क्षति हुने, पारिवारिक तथा सामाजिक तनाव बढ्ने र अन्ततः जीवन नै जोखिममा पर्न सक्ने भएकाले बेलैमा सचेत हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर–११ का वरिष्ठ उपाध्यक्ष जयलाल शाह, सचिव दिलीप प्रधान, विद्यालयका सहायक प्रिन्सिपल शाह, सामुदायिक प्रहरी सेवा केन्द्रका इन्चार्ज विश्वेश्वर प्रसाद शाह, प्रहरी जवान धनमाया दाहाल, सहायक प्रहरी हवल्दार सुरेन्द्र यादव, सदस्यहरू विपिन उपाध्याय र मधु सिंह लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष राम सरार्फले विद्यार्थीहरूलाई लागू औषध सेवनबाट टाढा रहन र आफ्नो भविष्य सुरक्षित बनाउन सचेत रहन आग्रह गर्नुभयो। उहाँले लागू औषध दुर्व्यसनले जीवनमा अनेकौं समस्या निम्त्याउने भएकाले यसको रोकथाममा सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभयो।
कार्यक्रमको सहजीकरण सामुदायिक सेवा केन्द्रका सदस्य तथा पत्रकार जगत राईले गर्नुभएको थियो। कार्यक्रमबारे जानकारी केन्द्रका सचिव दिलीप प्रधानले दिनुभएको हो।