वीरगञ्ज– लिटिल एन्जल बोर्डिङ स्कुल, वीरगञ्ज महानगरपालिका–२४ का प्रिन्सिपल सन्नी पाख्रिङले नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी विद्यालयमा ‘समताशुल्क’को नाममा कर लगाउने निर्णय अभिभावकमाथि आर्थिक भार थोपर्ने कदम भएको बताएका छन्।
प्रिन्सिपल पाख्रिङले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै लाखौं युवालाई रोजगारी उपलब्ध गराइरहेको अवस्थामा सरकारले अभिभावकलाई राहत दिने अपेक्षा गरिए पनि उल्टै थप आर्थिक भार बोकाउने नीति ल्याएको भन्दै आपत्ति जनाए।
उनले शिक्षा र स्वास्थ्य जनताका लागि सबैभन्दा महत्वपूर्ण क्षेत्र भए पनि यिनै क्षेत्रमा करको भार बढाउनु सरकार जनताप्रति उत्तरदायी नभएको संकेत भएको टिप्पणी गरे। निजी विद्यालयमा केवल सम्पन्न वर्गका अभिभावकका सन्तान मात्रै अध्ययन गर्छन् भन्ने सरकारी बुझाइ गलत रहेको उनको भनाइ छ।
“निजी विद्यालयमा निम्न आय भएका अभिभावकका छोराछोरी पनि अध्ययन गरिरहेका छन्। यस्ता परिवारमाथि थप आर्थिक भार थोपर्नु अन्यायपूर्ण र निन्दनीय कदम हो,” उनले भने।
पाख्रिङका अनुसार विद्यालयहरूले सरकारले तोकेको मापदण्डअनुसार वार्षिक तथा मासिक शुल्क मात्र लिने गरेका छन्। आफूहरूको विद्यालयले भर्ना शुल्क नलिने गरेको र कसैले लिएको भए त्यो शिक्षा नियमावलीविपरीत हुने उनले बताए।
उनले विद्यालयले शिक्षा नियमावलीअनुसार १० प्रतिशत छात्रवृत्ति प्रदान गर्नुका साथै अपाङ्गता भएका, जेहेन्दार, गरिब, विपन्न तथा निम्न आय भएका परिवारका बालबालिकालाई अतिरिक्त रूपमा निःशुल्क शिक्षा उपलब्ध गराउँदै आएको जानकारी दिए।
अर्को प्रसङ्गमा उनले मठ–मन्दिर सञ्चालन गर्न पनि आर्थिक स्रोत आवश्यक पर्ने उल्लेख गर्दै विद्यालय सञ्चालनका लागि आर्थिक स्रोत झन् अपरिहार्य हुने बताए। सरकारले बारम्बार यस्ता नीति ल्याएर अभिभावकमाथि आर्थिक भार थप्ने काम गरिरहेको भन्दै निजी विद्यालय सञ्चालकहरूको तर्फबाट उक्त निर्णय तत्काल पुनर्विचार गर्न आग्रह गरे।
विदेशी शिक्षा नीतिको उदाहरण दिँदै उनले जर्मनीलगायतका देशमा शिक्षा र स्वास्थ्य सेवा निःशुल्क रूपमा उपलब्ध गराइने भए पनि नेपालमा त्यसको सट्टा थप करको भार बढाउने प्रवृत्ति देखिएको बताए। “हामी विदेशका नीति नक्कल गर्न खोज्छौं, तर जनताको हितलाई ध्यानमा राखेर लागू गर्न सक्दैनौं,” उनले भने।
सरकारले शिक्षा क्षेत्रसँग सम्बन्धित नीतिहरू निर्माण गर्दा अभिभावक, विद्यार्थी र विद्यालय सञ्चालकहरूको वास्तविक अवस्थालाई ध्यानमा राख्नुपर्नेमा पाख्रिङले जोड दिएका छन्।