वीरगञ्ज- वीरगञ्ज महानगरपालिका–१५ स्थित सिद्धार्थ इन्टरनेसनल स्कुलमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका हेड गर्ल, हेड ब्वाय, हाउस क्याप्टेन तथा अनुशासन विभागका जिम्मेवार विद्यार्थीहरूको शपथ ग्रहण तथा गोपनीयता कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालयकी प्रिन्सिपल रेणुका गिरीको सभापतित्व तथा मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश मानवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नवनिर्वाचित विद्यार्थी नेतृत्वलाई शपथ ग्रहण गराइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मानवले जिम्मेवारी प्राप्त गरेका सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै विद्यालयको अनुशासन कायम राख्न, आफ्नो कर्तव्य निष्ठापूर्वक निर्वाह गर्न तथा विद्यालयको प्रतिष्ठा अझ उचाइमा पुर्याउन आग्रह गरे। उनले विद्यार्थीहरूलाई अभिभावकको अपेक्षा र भावनालाई सम्मान गर्दै आफ्नो लक्ष्यतर्फ अग्रसर हुन प्रेरित गरे।
मानवले विद्यालय अनुशासन, नेतृत्व विकास र नैतिक शिक्षाको महत्वपूर्ण केन्द्र भएको उल्लेख गर्दै शपथ ग्रहण गरेका विद्यार्थीहरूले विद्यालयको हकहित, शिक्षक–शिक्षिकाको सम्मान तथा सहपाठीहरूको मार्गदर्शनमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए।
कार्यक्रममा प्रिन्सिपल रेणुका गिरीले नवनिर्वाचित हेड गर्ल, हेड ब्वाय, हाउस क्याप्टेन तथा अनुशासन प्रमुखहरूलाई शपथ ग्रहण गराउँदै विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप तथा विभिन्न जिम्मेवारीलाई प्रभावकारी रूपमा सम्पन्न गर्न शुभकामना व्यक्त गरिन्। उनले विद्यार्थी नेतृत्वले सम्पूर्ण विद्यार्थीलाई अनुशासित, जिम्मेवार र सकारात्मक वातावरणमा अध्ययन गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा विद्यालयका डाइरेक्टर वीरेन्द्र पण्डित, सामाजिक अभियन्ता ओमकुमार झा, सहायक प्रिन्सिपल भावना साह, शिक्षक जगदीश चौहान तथा शिक्षिकाहरू लक्ष्मी पटेल, संगीता पटेलसहित अन्य शिक्षक–शिक्षिका र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण शिक्षक आदित्य साराफले गरेका थिए।