वीरगञ्ज– वीरगञ्ज महानगरपालिका–९ स्थित जीवनज्योति बोर्डिङ स्कुलले आइतबार इन्फोटेक कलेजको सभा हलमा अन्तरविद्यालयस्तरीय स्पेलिङ प्रतियोगिता आयोजना गरेको छ।
विद्यालयका प्रिन्सिपल शिवजी गुप्ताको सभापतित्व तथा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ११ वटा बोर्डिङ स्कुलका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी दाहालले यस्ता प्रतियोगिताले विद्यार्थीहरूको क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने भएकाले नियमित रूपमा आयोजना गर्न आवश्यक रहेको बताए। उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूको चौतर्फी विकासमा टेवा पुर्याउनुका साथै उनीहरूको बौद्धिक क्षमतालाई समेत अभिवृद्धि गर्ने धारणा व्यक्त गरे।
दाहालले प्रतियोगितामा प्रथम, द्वितीय वा तृतीय हुनु मात्र उपलब्धि नभई सहभागिता जनाउनु नै ठूलो सफलता भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीभित्र लुकेका प्रतिभालाई उजागर गर्ने अवसर प्रदान गर्ने बताए। उनले प्रतियोगितामा सहभागी सबै विद्यालयका विद्यार्थीहरूलाई बधाईसमेत दिए।
कार्यक्रममा प्याप्सन मधेश प्रदेशका उपाध्यक्ष तथा मनकामना माविका प्रिन्सिपल पुरन प्रधान, हिसानका उपाध्यक्ष तथा सनलाइट माविका प्रिन्सिपल आलोक चौरसिया, न्यू वेभ माविका प्रिन्सिपल सुभाष प्रधान, विद्या सदन माविका प्रिन्सिपल लालबहादुर गुरुङ, जिल्ला ट्राफिक कार्यालय पर्साका प्रहरी निरीक्षक, जीवनज्योति बोर्डिङ स्कुलकी सञ्चालिका मिनाक्षी गुप्ता, प्याप्सन मधेश प्रदेशका सल्लाहकार तथा मिनील्यान्ड बोर्डिङ स्कुलका संस्थापक लालबाबु पटेल, प्याप्सन महानगर कोषाध्यक्ष तथा मिनील्यान्ड बोर्डिङ स्कुलका प्रिन्सिपल सुरजबाबु पटेल, जीवनज्योति बोर्डिङ स्कुलकी सञ्चालिका कामाक्षा गुप्ता लगायतको उपस्थिति रहेको थियो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको विद्यालयका प्रिन्सिपल शिवजी गुप्ताले जानकारी दिए।
कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा भाषिक दक्षता, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास गर्नु रहेको आयोजकले जनाएको छ।