वीरगञ्ज — वीरगञ्ज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा वार्षिक पुरस्कार वितरण कार्यक्रम मंगलबार भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालयका प्रिन्सिपल सरोजप्रसाद चौधरीको सभापतित्व तथा वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा हेड गर्ल, हेड ब्वाय, हाउस क्याप्टेन, खेलकुद संयोजक तथा अनुशासन प्रमुख लगायतका विद्यार्थी प्रतिनिधिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि लामिछानेले दीप प्रज्वलन गरी गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले विद्यालयका विद्यार्थीहरूले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापहरूमा समेत उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै प्रशंसा व्यक्त गरे। उनले नवनिर्वाचित विद्यार्थी नेतृत्वलाई बधाई तथा शुभकामना दिँदै विद्यालयको नीति, नियम र अनुशासनको पालना गर्दै जिम्मेवारीपूर्ण ढंगले आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गरे।
“जिम्मेवारी प्राप्त गर्नु मात्र पर्याप्त हुँदैन, त्यसलाई सफलतापूर्वक पूरा गर्नु नै सबैभन्दा ठूलो उपलब्धि हो,” प्रमुख अतिथि लामिछानेले भने, “पद ठूलो वा सानो हुँदैन, आफूले सम्हालेको जिम्मेवारीलाई कसरी निर्वाह गरिन्छ भन्ने कुरा नै महत्वपूर्ण हुन्छ।”
कार्यक्रममा प्याप्सनका केन्द्रीय सदस्य छेदुप लामा, वरिष्ठ उपाध्यक्ष सुशीला शाह, उपाध्यक्ष वीरेन्द्र यादव, वडा नं. १३ का वडाध्यक्ष हिरा गिरी, मधेश प्रदेश सल्लाहकार इमामुद्दिन अहमद, वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय, प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, एलाइड युथ सोसाइटीका अध्यक्ष ओमकुमार झा, मानव आश्रम सेवाका केन्द्रीय सदस्य देवेश मानव, क्रियाशील पत्रकार मञ्चका अध्यक्ष आनन्द पटेल तथा समाजवादी प्रेस संगठनका मनोज पटेल लगायतले विद्यालयका गतिविधि तथा विद्यार्थीहरूको प्रस्तुतीको प्रशंसा गरेका थिए।
सो अवसरमा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले नवनिर्वाचित विद्यार्थी नेतृत्व, हाउस क्याप्टेन, खेलकुद संयोजक, अनुशासन प्रमुख तथा विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्र तथा शिल्ड प्रदान गरेका थिए।
विद्यालयले अनलाइन मतदान प्रणालीमार्फत शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी नेतृत्व चयन गरेको जनाएको छ। निर्वाचित विद्यार्थीहरूले यही दिनदेखि आफ्नो जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन्।
कार्यक्रममा प्रिन्सिपल सरोजप्रसाद चौधरीले विद्यालयले वार्षिक रूपमा शैक्षिक, खेलकुद तथा अन्य अतिरिक्त गतिविधिमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गर्दै आएको जानकारी दिए। साथै नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूका साथै अपाङ्ग, दलित, शहीद परिवार, अल्पसंख्यक, आदिवासी तथा मधेसी समुदायका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिँदै आएको उनले बताए।
कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका प्रमिला श्रेष्ठले व्यक्त गरेकी थिइन् भने सहजीकरण सहायक प्रिन्सिपल अशोक संग्रौलाले गरेका थिए।