वीरगञ्ज । हरिखेतान बहुमुखी क्याम्पसका विद्यार्थीहरू नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत वीरगञ्ज भन्सार कार्यालयमा सञ्चालन गरिएको टाइम रिलिज स्टडी (TRS) वास्तविक सर्वेक्षणमा सहभागी भएको अवसरमा उनीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ।
चैत २२ देखि २८ गते (५–११ अप्रिल २०२६) सम्म सञ्चालन भएको उक्त सर्वेक्षणमा करिब २० जना विद्यार्थीहरूले गणनाकर्ता (Enumerator)का रूपमा सक्रिय सहभागिता जनाएका थिए। सहभागी विद्यार्थीहरूको मेहनत, इमानदारिता र समर्पणको उच्च मूल्यांकन गर्दै प्रमाणपत्र प्रदान गरिएको हो।
समापन समारोहमा वीरगञ्ज भन्सार कार्यालयका प्रमुख काजीबाबु कोइरालाले विद्यार्थीहरूको सहभागिताले उनीहरूलाई व्यवहारिक ज्ञान प्राप्त गर्ने महत्वपूर्ण अवसर मिलेको बताउँदै क्याम्पस परिवारलाई धन्यवाद दिएका थिए। उनले भन्सार कार्यालयले सञ्चालन गर्ने यस्ता सर्वेक्षणमार्फत समय व्यवस्थापन र प्रक्रिया सम्बन्धी जानकारी प्राप्त हुनु ठूलो उपलब्धि भएको उल्लेख गरे।
कार्यक्रममा हरिखेतान बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. रामऔतार खेतानको अध्यक्षता रहेको थियो। साथै वीरगञ्ज भन्सार कार्यालयका प्रतिनिधि लेखनाथ भट्टराई, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष तथा क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष हरि गौतम, जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्की, व्यवस्थापन समितिका सल्लाहकार जयप्रकाश खेतान लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
त्यस्तै, व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेश कुमार रोंगटा, रतन टेमानी, अशोक तुल्स्यान, आलोचन दत्त लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी सुश्री मुस्कान सिंह लगायत विद्यार्थीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो। प्रमाणपत्रमा शाखा अधिकृत रमेश सुकमानीको हस्ताक्षर रहेको थियो।
कार्यक्रमको सहजीकरण शिक्षक रामप्रसाद चापागाईंले गर्नुभएको थियो।