वीरगञ्ज । नारायणी यातायात व्यवसायी सङ्घको क्षेत्रीय कार्यालय वीरगञ्जको आयोजनामा बस व्यवसायी तथा सञ्चालकहरूको भेला सम्पन्न भएको छ। पानीट्याङ्कीस्थित डायमण्ड होटलमा आयोजित भेला सङ्घका क्षेत्रीय अध्यक्ष हितलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।
भेलामा सहभागी वक्ताहरूले यातायात व्यवसायीहरूको हकहित संरक्षणका लागि सरकारसँग प्रभावकारी रूपमा आवाज उठाउन र आवश्यक दबाब सिर्जना गर्न सबै व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिएका थिए। उनीहरूले वर्तमान सरकारले यातायात व्यवसायीहरूको समस्या समाधान र हकहितका विषयमा अपेक्षाअनुसार काम गर्न नसकेको गुनासो समेत गरेका थिए।
वक्ताहरूले व्यवसायीहरूलाई आफ्ना सवारीसाधन समयमै सङ्घमा नवीकरण गरी सुरक्षित रूपमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै संगठित भएर अघि बढे मात्रै व्यवसायलाई दीर्घकालीन रूपमा टिकाउ बनाउन सकिने विश्वास व्यक्त गरेका थिए।
भेलामा सवारी दुर्घटनापछि प्रदान गरिने बीमा सुविधालाई समयानुकूल परिमार्जन गर्नुपर्ने विषय पनि उठाइएको थियो। हाल दुर्घटना बीमाअन्तर्गत उपलब्ध दुई लाख रुपैयाँको सीमा बढाएर कम्तीमा १० लाख रुपैयाँ पुर्याउनुपर्ने माग व्यवसायीहरूले गरेका छन्। साथै, बीमा शुल्क र सुविधाका विषयमा सम्बन्धित निकायसँग सामूहिक पहल गर्नुपर्नेमा पनि जोड दिइएको थियो।
कार्यक्रममा वीरगञ्ज महानगरपालिका–४ का वडा अध्यक्ष जगत साह कानु, व्यवसायी विनोद मानन्धर, वीरेन्द्र कुर्मी, सङ्घका सल्लाहकार अमरजित सिंह, महासचिव सरोजकुमार खनाल, निवर्तमान अध्यक्ष बद्रीप्रसाद चौलागाईं, महेश कुमार दास, वरिष्ठ व्यवसायी जगन्नाथ कलवार, विशाल रायमाझीलगायत करिब ५० भन्दा बढी बस व्यवसायी तथा बस सञ्चालकहरूको सहभागिता रहेको थियो।