वीरगञ्ज- देशभक्त राजभक्त केन्द्रीय कार्यालय, वीरगञ्जले आज महावीर मन्दिर नजिक पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ शुभ जन्मोत्सव भव्य रूपमा मनाएको छ।
देशभक्त राजभक्त केन्द्रीय कार्यालयका अध्यक्ष दिपेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी वक्ताहरूले नेपालमा राजसंस्था पुनःस्थापना आवश्यक रहेको धारणा राखेका थिए। उनीहरूले 'राजा आउ, देश बचाउ' लगायतका नारासमेत लगाएका थिए।
कार्यक्रममा वक्ताहरूले वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थामा जनताले विभिन्न समस्या र कठिनाइ भोग्नुपरेको दाबी गर्दै देशमा शान्ति, सुशासन र स्थायित्वका लागि राजसंस्था आवश्यक रहेको बताएका थिए। उनीहरूले लोकतान्त्रिक व्यवस्थामा भ्रष्टाचार, नातावाद र बेरोजगारी बढेको आरोप लगाउँदै यसको समाधानका लागि राजसंस्था पुनःस्थापना एकमात्र विकल्प भएको दाबी गरे।
अध्यक्ष रौनियारले पूर्वराजाको शासनकालमा बेरोजगारीको अवस्था अहिलेको जस्तो नरहेको र उद्योग–कलकारखाना सञ्चालनमा रहेको दाबी गर्दै वर्तमान अवस्थामा अधिकांश उद्योग बन्द भएको र युवाहरू बेरोजगार बनेको उल्लेख गरे। उनले सम्पूर्ण राजावादी शक्तिहरू एकजुट भएर राजसंस्था पुनःस्थापनाका लागि अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सव समारोहमा समाजसेवी पशुपति विक्रम शाह, उषा शाह, अब्दुल सतार अन्सारी, शम्भु चौरसिया, रामनारायण शाह, कमल घिमिरे, मोती रहमान, पृथ्वी झा, जय रौनियारलगायतको उपस्थिति रहेको आयोजकले जनाएको छ।