वीरगन्ज- वीरगन्ज महानगरपालिकामा जारी सडक विस्तार कार्यका कारण नालाहरू अवरुद्ध हुँदा शुक्रबार राति परेको वर्षाले सहरका विभिन्न मुख्य चोक जलमग्न भएका छन्। सडक विस्तारका क्रममा भत्काइएका घरबाट निस्किएको मलबा समयमै व्यवस्थापन हुन नसक्दा मुर्ली, त्रिमूर्ति चोक, छपकैया इदगाह चोक, पिपरा चोकलगायतका क्षेत्रमा पानी जमेर डुबान भएको हो।
वर्षाको पानी निकास हुन नसकेपछि महानगरपालिकाले शुक्रबार बिहानैदेखि पानी निकासका लागि ‘एक्सन टिम’ परिचालन गरेको छ। एक्सन टिमका संयोजक सरफुदिन मियाको नेतृत्वमा प्राविधिक र सफाइकर्मीको टोली प्रभावित क्षेत्रमा खटिएको छ। महानगरले तीन वटा एक्साभेटर, आधा दर्जन ट्याक्टर तथा एक दर्जनभन्दा बढी सफाइकर्मी परिचालन गरेर नाला सफा गर्ने र अवरोध हटाउने काम गरिरहेको जनाएको छ।
संयोजक सरफुदिन मियाका अनुसार सडक विस्तारका क्रममा घर भत्काउँदा निस्किएका ढुङ्गा, इँटा, माटो र अन्य भग्नावशेष नालामा थुप्रिएर जाम भएका कारण वर्षाको पानी निकास हुन नसकेको हो। उनले नागरिकलाई तत्काल राहत दिन र समस्या छिटो समाधान गर्न आफ्नो टोली निरन्तर रूपमा खटिएको बताए।
सडक विस्तारपछि सडक किनारमा थुप्रिएको मलबा तथा लथालिङ्ग अवस्थामा रहेका बिजुली र इन्टरनेटका तारका कारण वीरगन्जको जनजीवनसमेत प्रभावित बनेको छ। नाला जाम, हिलो र डुबानका कारण स्थानीय बासिन्दा तथा सर्वसाधारण यात्रुले सास्ती भोग्नुपरेको छ।
महानगरपालिकाले नाला सफाइलाई तीव्रता दिँदै पानीको सहज निकास गराउने र सहरलाई यथाशीघ्र सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेको जनाएको छ।