वीरगञ्ज- सामाजिक संस्था जिल्ला समन्वय समिति (एनजिओसिसी) पर्साको आयोजना तथा युनिसेफ नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा स्थानीय तहको खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) योजना निर्माणका लागि सामाजिक तथा प्राविधिक गणकहरूलाई लक्षित तीनदिने NWASH/MIS तालिम सुरु भएको छ।
तालिमको उद्घाटन सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इमब्राहिम देवानको अध्यक्षतामा तथा वास योजना अधिकृत अन्नपूर्ण मिश्राको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै अधिकृत मिश्राले नेपाल सरकारले सन् २०३० सम्म सबै स्थानीय तहमा १० वर्षीय खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) योजना कार्यान्वयन गर्ने लक्ष्य लिएको बताइन्। उक्त लक्ष्य हासिल गर्न पालिकाभित्रका घरधुरी, विद्यालय, स्वास्थ्य संस्था, खानेपानी प्रणालीलगायतका संरचनाको तथ्यांक GPS मार्फत NWASH प्रणालीमा संकलन, प्रमाणीकरण तथा व्यवस्थापनका लागि गणक र प्राविधिकलाई दक्ष बनाउन तालिम आयोजना गरिएको उनले जानकारी दिइन्।
उनका अनुसार मधेस प्रदेशका १३६ स्थानीय तहमध्ये १०९ पालिकामा वास योजना तयार गर्ने उपकरण (टुल) विकास भइसकेको छ। हाल पर्साको पकहामैनपुर गाउँपालिका र बाराको पचरौता नगरपालिकाका गणक तथा प्राविधिकलाई सहभागी गराई तालिम सञ्चालन गरिएको हो।
मिश्राले वास योजनाका आधारमा स्थानीय तहले आवश्यकताअनुसार बजेट निर्माण तथा विनियोजन गर्न सहज हुने बताउँदै यस्ता कार्यक्रम नेपाल सरकारले देशभर सञ्चालन गरिरहेको जानकारी दिइन्।
युनिसेफ नेपालका कार्यक्रम संयोजक तथा प्रशिक्षक सुनिल शाहले स्वागत मन्तव्यका क्रममा स्थानीय सरकारसँगको सहकार्यमा मधेस प्रदेशका विभिन्न पालिकामा १० वर्षीय वास गुरुयोजना निर्माण भइरहेको बताए। उनले यस तालिममार्फत घरधुरी, विद्यालय, स्वास्थ्य संस्था तथा खानेपानी प्रणालीसम्बन्धी तथ्यांक NWASH प्रणालीमार्फत संकलन गर्ने व्यावहारिक सीप प्रदान गरिने उल्लेख गरे। यसबाट नागरिकलाई गुणस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता सेवामा पहुँच विस्तार हुनुका साथै सरकारलाई योजनाबद्ध विकासमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।
कार्यक्रमका अध्यक्ष इमब्राहिम देवानले कुनै पनि काम योजनाविना सफल हुन नसक्ने उल्लेख गर्दै तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरे। उनले वडा तथा पालिकास्तरमा तथ्यांक संकलन र कार्यान्वयन प्रक्रियामा यो तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे।
तीनदिने तालिममा बाराको पचरौता नगरपालिका र पर्साको पकहामैनपुर गाउँपालिकाका सामाजिक तथा प्राविधिक गणक गरी २० जनाको सहभागिता रहेको छ।
उद्घाटन समारोहमा सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका कार्यकारी निर्देशक रूपक पाण्डेको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण संस्थाका तालिम संयोजक दुलारचन्द साहले गरेका थिए।