वीरगञ्ज, पर्सा। पालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) योजना निर्माणका लागि आयोजित तीनदिने सामाजिक तथा प्राविधिक गणक तालिम शुक्रबार सम्पन्न भएको छ। तालिममा सहभागीहरूले सिकेका सीप तथा ज्ञानलाई आफ्ना पालिकामा व्यवहारिक रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सामाजिक संस्था जिल्ला समन्वय समिति (एनजिओसीसी) पर्साको आयोजना तथा युनिसेफ नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालन भएको NWASH/ MlS सम्बन्धी तालिममा पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका र बारा जिल्लाको पचरौता नगरपालिकाका सामाजिक तथा प्राविधिक गणकहरूको सहभागिता रहेको थियो।
समापन समारोहमा बोल्दै सामाजिक संस्था जिल्ला समन्वय समिति (एनजिओसीसी) पर्साका अध्यक्ष इमब्राहिम देवानले खानेपानी, सरसफाइ तथा स्वच्छता योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न सहभागीहरूलाई आग्रह गरे। उनले कुनै पनि योजना सफल बनाउन स्पष्ट योजना, प्रतिबद्धता र जिम्मेवारीबोध आवश्यक रहेको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञानलाई वडा तथा पालिका तहमा प्रयोग गर्नुपर्नेमा जोड दिए।
तालिमको उद्घाटन युनिसेफ नेपाल क्षेत्रीय कार्यालय जनकपुरकी वास अधिकृत अन्नपूर्ण मिश्राको प्रमुख आतिथ्यमा भएको थियो। उद्घाटन समारोहमा उनले नेपाल सरकारले सन् २०३० सम्म सबै स्थानीय तहमा १० वर्षे वास योजना तयार गर्ने लक्ष्य लिएको जानकारी दिँदै, 'खानेपानी, सरसफाइ तथा स्वच्छताबाट कोही पनि नछुटून्' भन्ने उद्देश्यअनुसार gps मार्फत घरधुरी, विद्यालय, स्वास्थ्य संस्था तथा खानेपानी प्रणालीको तथ्याङ्क संकलन गरी वडा र पालिका स्तरमा प्रमाणीकरण गरिने बताइन्।
उनका अनुसार मधेश प्रदेशका १३६ स्थानीय तहमध्ये १०९ वटा पालिकामा वास प्लानको उपकरण (टुल) तयार भइसकेको छ। बाँकी पालिकामा पनि दक्ष गणक तथा प्राविधिक तयार गरी तथ्याङ्क संकलनको कामलाई तीव्र बनाइँदैछ। यसबाट पालिकाहरूलाई खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा आवश्यक योजना निर्माण र बजेट विनियोजन गर्न सहज हुने उनको भनाइ थियो।
कार्यक्रम संयोजक तथा प्रशिक्षक सुनिल साहले खानेपानी मन्त्रालयअन्तर्गतको विभागले विकास गरेको NWASH/MlS प्रणालीमार्फत तथ्याङ्क संकलन गर्ने विधिबारे सहभागीहरूलाई प्रशिक्षण दिइएको जानकारी दिए। उनले स्थानीय तहको सहकार्यमा युनिसेफ नेपालले मधेश प्रदेशका विभिन्न पालिकामा खानेपानी, सरसफाइ तथा स्वच्छताको १० वर्षे गुरुयोजना निर्माणका लागि आवश्यक तथ्याङ्क संकलन कार्य अघि बढाइरहेको बताए।
साहका अनुसार यस प्रणालीमार्फत घरधुरी, विद्यालय, स्वास्थ्य संस्था तथा खानेपानी प्रणालीको तथ्याङ्क संकलन गरिनेछ, जसले स्थानीय तहको योजना निर्माणलाई तथ्यमा आधारित बनाउने र नागरिकलाई गुणस्तरीय खानेपानी तथा सरसफाइ सेवा विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
तीनदिने तालिममा पचरौता नगरपालिका र पकहामैनपुर गाउँपालिकाका सामाजिक तथा प्राविधिक गणक गरी २० जनाको सहभागिता रहेको थियो।
समापन समारोहमा सामाजिक संस्था जिल्ला समन्वय समिति (एनजिओसीसी) पर्साका उपाध्यक्ष चन्देश्वर चौहानले तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतारेर पालिकामा उपलब्धिमूलक काम गर्न सहभागीहरूलाई आग्रह गरे। कार्यक्रममा कार्यकारी निर्देशक रूपक पाण्डेको विशेष उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण दुलार चन्द साहले गरेका थिए।