वीरगञ्ज । जीवन ज्योति बोर्डिङ स्कुलको इन्टर्याक्ट क्लबको तेस्रो पदस्थापन कार्यक्रम आइतबार विद्यालयका प्रिन्सिपल शिवजी गुप्ताको सभापतित्व तथा रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष राजकिशोर प्रसाद कलवारको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि कलवारले इन्टर्याक्ट क्लबको पद केवल जिम्मेवारीको औपचारिकता नभई समाज परिवर्तनको अभियान भएको उल्लेख गरे। उनले क्लब विशुद्ध सामाजिक सेवाका लागि स्थापना भएको संस्था भएकाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नेतृत्व विकास, व्यक्तित्व निर्माण र समाज रूपान्तरणमा सक्रिय भूमिका खेल्न नवनिर्वाचित पदाधिकारीहरूलाई आग्रह गरे।
उनले सन् २०२६–२७ का लागि रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्षमा निर्वाचित इ. अनुराग साहलाई बधाई दिँदै उनको नेतृत्वमा रहेको सम्पूर्ण टोलीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गरे। साथै, निवर्तमान अध्यक्ष सिद्धि कर्णले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गरे।
समापन समारोहलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल शिवजी गुप्ताले विद्यार्थीमा नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र व्यक्तित्व विकास गर्ने उद्देश्यले विद्यालयमा इन्टर्याक्ट क्लब गठन गरिएको बताए। उनले क्लबमार्फत विद्यार्थीहरूले समाजमा रहेका विकृति–विसंगति हटाउन, सामाजिक सेवामा सक्रिय हुन तथा जिम्मेवार नागरिकका रूपमा विकास हुन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्रमुख अतिथि कलवार र प्रिन्सिपल गुप्ताले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुका साथै प्रमाणपत्र वितरण गरेका थिए। सो अवसरमा निवर्तमान अध्यक्ष सिद्धि कर्णले वर्तमान अध्यक्ष अनुराग साहलाई औपचारिक रूपमा पद हस्तान्तरण गरेकी थिइन्।
पद हस्तान्तरणपछि बोल्दै निवर्तमान अध्यक्ष सिद्धि कर्णले आफ्नो कार्यकालमा विभिन्न सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउन पाएको अनुभव साझा गर्दै यसले नेतृत्व क्षमता र व्यक्तित्व विकासमा ठूलो योगदान पुगेको बताइन्। उनले आगामी दिनमा अझ बढी विद्यार्थीहरूलाई यस्ता सामाजिक अभियानमा सहभागी हुन आग्रह गरिन्।
कार्यक्रममा रोटेरियन राकेश मिश्र, निखिल गुप्ता, रामविनय यादव, संगम पण्डित, सौरभ बर्नवाल, डा. प्रीति गुप्ता, मोहम्मद उमर देवान, कनहैया गुप्ता, अशुत चौधरी लगायतका रोटेरियन, रोट्र्याक्टर, इन्टर्याक्टर, विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।