वीरगञ्ज, साउन १४। वीरगञ्ज महानगरपालिका–१४, पिप्रास्थित सनसाइन बोर्डिङ स्कुलमा गुरु पूर्णिमाको अवसरमा विद्यार्थीहरूले केक काटेर आफ्ना गुरु–गुरुआमाप्रति सम्मान र कृतज्ञता व्यक्त गर्दै कार्यक्रम भव्य रूपमा सम्पन्न गरेका छन्।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले गुरु पूर्णिमाको विशेष अवसरमा केक काट्दै आफ्ना गुरु–गुरुआमासँग आशीर्वाद लिएका थिए। साथै विद्यार्थीहरूले शिक्षकहरूप्रति आदर, सम्मान र कृतज्ञताको भावना व्यक्त गर्दै कार्यक्रमलाई उत्साहपूर्वक मनाएका थिए।
विद्यालयका सञ्चालक अमित आलोकका अनुसार गुरु पूर्णिमा कार्यक्रमले विद्यार्थीहरूमा शिक्षकप्रतिको सम्मानभाव, अनुशासन र संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ। उनले विद्यार्थीहरूले आफ्ना गुरु–गुरुआमासँग आशीर्वाद लिँदै सम्मान प्रकट गरेको जानकारी दिए।
कार्यक्रममा शिक्षक–शिक्षिकाहरूले विद्यार्थीहरूलाई जीवनमा कहिल्यै गलत बाटोमा नलाग्न, आमाबुवा तथा गुरु–गुरुआमाले दिएको शिक्षा र मार्गदर्शनलाई आत्मसात् गर्दै अघि बढ्न आग्रह गरेका थिए। उनीहरूले असल शिक्षा, अनुशासन र मेहनतले नै उज्ज्वल भविष्य निर्माण गर्न सकिने धारणा व्यक्त गरे।
वक्ताहरूले गुरु–गुरुआमालाई भगवानको दोस्रो रूपका रूपमा सम्मान गरिने परम्परालाई स्मरण गर्दै विद्यार्थीहरूले सधैं आफ्ना शिक्षकप्रति आदर, सम्मान र इज्जतको भावना कायम राख्नुपर्नेमा जोड दिएका थिए।
गुरु पूर्णिमाको अवसरमा आयोजित उक्त कार्यक्रममा सम्पूर्ण विद्यार्थीहरूले आफ्ना गुरु–गुरुआमाप्रति सम्मान व्यक्त गर्दै शुभकामना आदान–प्रदान गरेका थिए। विद्यालयका अनुसार कार्यक्रमले विद्यार्थी र शिक्षकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै सम्मान र संस्कारको सकारात्मक सन्देश प्रवाह गरेको छ।