वीरगञ्ज– रोटर्याक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले राउण्ड टेबल नेपालको सहकार्यमा आगामी २३ साउन २०८३ (८ अगस्ट २०२६), शनिबार वीरगञ्जको घण्टाघरमा वृहत् खुला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रम बिहान ७ बजेदेखि सञ्चालन हुने र सर्वसाधारण, युवा, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलाई रक्तदानमार्फत मानवीय सेवामा सहभागी हुन आग्रह गरिएको छ।
प्याप्सन वीरगञ्ज महानगर अध्यक्ष तथा माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल राहुल श्रीवास्तवले रक्तदानजस्तो मानवीय अभियानमा सहभागी भई कसैको जीवन बचाउन सबै नागरिकलाई अपिल गर्नुभएको छ। उहाँले एक व्यक्तिको रक्तदानले रगतको अभावका कारण जीवन–मरणको अवस्थामा रहेका बिरामीलाई नयाँ जीवन दिन सक्ने बताउनुभयो।
श्रीवास्तवका अनुसार अस्पतालहरूमा रगतको अभाव भइरहेका बेला नियमित रक्तदानले बिरामीहरूको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ। “रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको यस कार्यक्रमले रगतको अभाव न्यूनीकरण गर्नुका साथै समाजमा रक्तदानप्रति सकारात्मक चेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको उहाँले बताउनुभयो।
उहाँले १८ वर्ष उमेर पूरा गरेका स्वस्थ नागरिकहरूलाई रक्तदान कार्यक्रममा सहभागी भई आफ्नो अमूल्य रक्तदानमार्फत मानवीय सेवामा योगदान दिन आग्रह गर्नुभएको छ। साथै, आफूले रक्तदान गर्न नसके पनि परिवार, साथीभाइ तथा सहकर्मीहरूलाई रक्तदानका लागि प्रेरित गर्न समेत अनुरोध गर्नुभएको छ।
“तपाईंको एक थोपा रगतले कसैको जीवनमा दोस्रो अवसर दिन सक्छ,” भन्दै श्रीवास्तवले आगामी शनिबार बिहान ७ बजे घण्टाघरमा आयोजना हुने रक्तदान कार्यक्रममा उपस्थित भई अभियानलाई सफल बनाउन सम्पूर्ण नागरिकसँग सहयोगको अपिल गर्नुभएको छ।