वीरगञ्ज । विद्यार्थीहरूमा नेपाली तथा अंग्रेजी व्याकरण, शब्दज्ञान र भाषा प्रयोगसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजित ‘एसईई ग्रामर क्विज मास्टर’ प्रतियोगिता सम्पन्न भएको छ। अक्षरारम्भको सहकार्यमा मनकामना बोर्डिङ स्कुलले आफ्नै विद्यालय परिसरमा प्रतियोगिता आयोजना गरेको हो।
मनकामना बोर्डिङ स्कुलका डाइरेक्टर तथा प्रिन्सिपल पुरन प्रधानको अध्यक्षता तथा सनलाइट प्लस टु कलेजका प्रिन्सिपल एवं हिसानका उपाध्यक्ष आलोक चौरसियाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
प्रतियोगितामा न्यू वेभ माध्यमिक विद्यालय प्रथम भएको छ। आयोजक मनकामना बोर्डिङ स्कुल दोस्रो, जीएचपी स्कुल तेस्रो र कादम्बरी स्कुल चौथो भएका छन्। विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयका विद्यार्थीहरूलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।
प्रतियोगितामा नेपाली तथा अंग्रेजी व्याकरण, भाषा प्रयोग, शब्दज्ञानलगायत विभिन्न शैक्षिक विषयसँग सम्बन्धित प्रश्नहरू सोधिएको थियो। प्रतियोगितामा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्नो ज्ञान तथा क्षमता प्रस्तुत गरेका थिए।
प्रमुख अतिथि आलोक चौरसियाले एसईई परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूका लागि यस्ता प्रतियोगिताले ज्ञान र क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। यस्ता कार्यक्रमले विद्यार्थीमा अध्ययनप्रतिको रुचि बढाउनुका साथै आत्मविश्वास विकास गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
जीएचपी स्कुलका प्रिन्सिपल ज्याक कौरले शैक्षिक तथा ज्ञानवर्धक कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास बढाउनुका साथै एसईई परीक्षाको तयारीमा समेत सहयोग पुग्ने बताए।
त्यसैगरी माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल एवं प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले विद्यार्थीको शैक्षिक विकास तथा क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पनि यस्ता प्रतियोगिता र ज्ञानवर्धक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए।
प्रतियोगितामा मनकामना बोर्डिङ स्कुल, सनलाइट प्लस टु कलेज, जीवन ज्योति स्कुल, माउन्ट मकालु बोर्डिङ स्कुल, विद्यासन एकेडेमी, न्यू वेभ मावि, मिनिल्यान्ड मावि, ओम नेशनल एकेडेमी, कादम्बरी स्कुल, डीपीएस स्कुल र एन्जल वर्ड स्कुललगायत १२ विद्यालयका विद्यार्थी सहभागी थिए।
कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल, सञ्चालक, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो।
समापन कार्यक्रममा मनकामना बोर्डिङ स्कुलका प्रिन्सिपल पुरन प्रधानले विद्यार्थीहरूले प्रतियोगितामार्फत उत्कृष्ट प्रतिभा प्रस्तुत गरेको भन्दै आगामी एसईई परीक्षामा राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे। उनले विद्यार्थीको गुणस्तरीय शिक्षा र क्षमता विकासका लागि आगामी दिनमा पनि अतिरिक्त तथा ज्ञानवर्धक गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।