वीरगञ्ज । क्रिएटिभ विद्यालय समूहको आयोजनामा अन्तरविद्यालय हिज्जे, वक्तृत्वकला तथा निबन्ध प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै उत्कृष्ट प्रस्तुति दिएका थिए।
ओसिस माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक इन्द्रदेव शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अल्फा टेकका डाइरेक्टर रामसुन्दर चौधरीले सहजीकरण गरेका थिए।
हिज्जे प्रतियोगितातर्फ ओसिस माध्यमिक विद्यालयका आइसा पटेल, अनुराग पटेल र निरज चौधरीले प्रथम स्थान हासिल गरे। ग्रीनल्याण्ड माध्यमिक विद्यालयका आसिया खातुन, खुसी खातुन र समर अजिज दोस्रो तथा विभूति एकेडेमीका सृष्टि शाह, अनन्या गुप्ता र अर्जुन सर्राफ तेस्रो भए।
त्यस्तै, निबन्ध प्रतियोगितातर्फ ग्रीनल्याण्ड माध्यमिक विद्यालयका कक्षा १० का आशिफ मलिक प्रथम भए। विभूति एकेडेमीकी कक्षा ८ की रागनी पाल दोस्रो तथा कक्षा १० का अङ्कित गुप्ता तेस्रो भए।
वक्तृत्वकला प्रतियोगितामा विभूति एकेडेमीकी कक्षा ७ की नाभिया गुप्ता प्रथम, ग्रीनल्याण्ड माध्यमिक विद्यालयका कक्षा ७ का आराध्य गुप्ता दोस्रो तथा कक्षा ६ की आल्फा खातुन तेस्रो भए।
निबन्ध तथा वक्तृत्वकला प्रतियोगिताको मूल्यांकन हरि खेतान क्याम्पसका विभागीय सदस्य डा। निरज चौधरीले गरेका थिए भने हिज्जे प्रतियोगिताको प्रस्तोता रामसुन्दर चौधरी थिए।
प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई अतिथिहरूले शिल्ड, प्रमाणपत्र तथा मेडल प्रदान गरी सम्मान गरेका थिए। कार्यक्रममा ग्रीनल्याण्ड माध्यमिक विद्यालयका डाइरेक्टर उपेन्द्र पण्डितले सहभागी विद्यार्थी तथा आयोजकलाई शुभकामना व्यक्त गरे।
अल्फा टेकका डाइरेक्टर रामसुन्दर चौधरीले विद्यार्थीहरूको गुणस्तरीय शिक्षासँगै चौतर्फी विकासका लागि यस्ता अतिरिक्त क्रियाकलाप आवश्यक रहेको बताए। प्रतियोगिताले विद्यार्थीहरूको हिज्जे, लेखन तथा वक्तृत्वकला सीप विकाससँगै आत्मविश्वास, सिर्जनात्मक क्षमता र स्वस्थ प्रतिस्पर्धाको भावना बढाउन सहयोग पुग्ने उनको भनाइ थियो।