चालु आर्थिक वर्षको ४ महिनामा वीरगञ्ज भन्सारबाट १२ अर्ब ८३ करोड ३३ लाख ६ हजार मूल्य बराबरको नेपाली उत्पादन भारत तथा तेस्रो मुलुक तर्फ निर्यात भएको छ । वीरगञ्ज नाका हुँदै भारत, डेनमार्क, अष्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाईल्याण्ड लगायतका मुलुकहरूमा तेल, जुस, कपडा जुत्ता, फलामे पाता लगायतका नेपाली उत्पादन तथा जडीबुटी निर्यात भएको वीरगञ्जस्थित आईसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेले जानकारी दिए ।
आईसिपी भन्सार नाका हुँदै आर्थिक बर्ष २०८१÷०८२ को चार महिना अर्थात् साउन, भदौ, असोज र कार्तिकमा २ अर्ब ८५ करोड ४३ लाख ९७ हजार मूल्य बराबरको फलफुलको जुस तथा जाम भारत निर्यात भएको छ भने चार महिनाको अवधिमा १ अर्ब ३९ करोड ४९ लाख ९८ हजार मूल्य बराबरको फलामे पाता निर्यात भएको छ ।
त्यसैगरी चार महिनाको अवधिमा २ अर्ब २७ करोड ६५ लाख २२ हजार मूल्य बराबरको भटमासको तेल भारत निर्यात भएको छ भने १ अर्ब ३२ करोड ६३ लाख १९ हजार मूल्य बराबरको सूर्यमुखी तेल समेत भारत निर्यात भएको वीरगञ्जभन्सार आईसिपीद्धारा जारी तथ्याङ्कमा उल्लेख छ ।
सो अवधिमा ८६ करोड २४ लाख ५ हजार मूल्य बराबरको पिना, ४२ करोड ४० लाख ४८ हजार मूल्य बराबरको जमोठ कपडा भारत तथा तेस्रो मुलुक निर्यात भएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक लामिछानेले बताए । वीरगञ्ज नाकाबाट ४ महिनाको अवधिमा ९० करोड ३७ लाख ५१ हजार मूल्य बराबरको सेन्थेटिक यार्न भारत निर्यात भएको छ ।